रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी (सूचीसहित)


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार केन्द्रीय सदस्य पदका लागि कुल ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ। तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ। साथै, सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहने व्यवस्था गरिएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि निर्धारित समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ।