चिडियाखानामा बर्डफ्लु संकट : सूचना लुकाउँदा बढ्यो जोखिम, प्रमुखमाथि छानबिन


काठमाडौं।

ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरेको आरोपमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अघि बढाएको छ। कोषले संक्रमण देखिएपछि पनि आवश्यक सतर्कता अपनाउन ढिलाइ भएको, सम्बन्धित निकायलाई समयमै जानकारी नदिएको तथा जोखिम व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्ष निकालेपछि यो कदम चालेको हो।

पशु सेवा विभागका अनुसार चिडियाखानाभित्र रहेका चराचुरुंगीहरू जेठ २९ गतेदेखि नै मर्न थालेका थिए। तर चिडियाखाना प्रशासनले अवस्था गम्भीर बन्दै गएको जानकारी समयमै बाहिर ल्याएन। चराहरू मर्ने क्रम नरोकिएपछि असार १ गते तीनवटा मृत चराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणबाट ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच५एन१)’ अर्थात् बर्डफ्लु पुष्टि भएको थियो।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार नमुना प्राप्त हुनासाथ र्‍यापिड टेस्ट र पीसीआर परीक्षण गरिएको थियो। परीक्षणले एच५एन१ संक्रमण पुष्टि गरेपछि विभागको टोली चिडियाखाना पुगेको थियो। टोलीले त्यहाँ पुग्दा केही समयअघिदेखि नै चराहरू मर्ने क्रम चलिरहेको र केही परीक्षणहरू चिडियाखाना व्यवस्थापनले आफैं गरिरहेको जानकारी प्राप्त गरेको थियो।

संक्रमण पुष्टि भएपछि चिडियाखाना असार ५ गतेदेखि बन्द गरिएको थियो। अहिले चिडियाखाना पूर्ण रूपमा सिल गरिएको छ र प्रवेशमा रोक लगाइएको छ। हालसम्म साना–ठूला गरी ३७ पशुपन्छी मरिसकेका छन् भने २४ वटामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।

संक्रमणका कारण लोपोन्मुख तथा दुर्लभ प्रजातिका लाटोकोसेरो, बकुल्ला, गिद्ध, राजहाँस, सारसलगायतका पन्छीहरू मरेका छन्। चिडियाखानाका निमित्त प्रमुख बाबुलाल तिरुवाका अनुसार केही साना स्तनधारी जनावरहरूमा समेत संक्रमण देखिएको छ। जंगली बिरालो, नीरबिरालो, चरीबाघ, हरिण तथा बाँदरमा संक्रमण पुष्टि भएको छ भने जंगली बिरालो र चरीबाघको मृत्यु भइसकेको छ।

विशेषज्ञहरूका अनुसार एच५एन१ भाइरस पन्छीहरूमा अत्यन्त छिटो फैलिने रोग हो। एकपटक संक्रमण फैलिन थालेपछि नियन्त्रण गर्न कठिन हुन्छ। यसले वन्यजन्तु संरक्षणमा प्रत्यक्ष असर पुर्‍याउने मात्र होइन, दुर्लभ तथा संकटापन्न प्रजातिको अस्तित्वमै चुनौती खडा गर्न सक्छ। विश्वका विभिन्न देशमा यो भाइरस केही अवस्थामा मानिसमा समेत सरेको र मृत्युका घटनासमेत भएका छन्। त्यसैले चिडियाखानामा देखिएको संक्रमणलाई सामान्य रूपमा लिन नसकिने पशु स्वास्थ्य विज्ञहरूको भनाइ छ। केही समय अघी नेपालमा पनि एकजना मानीसमा बर्डफ्लु संक्रमण पुष्टी भएको थियो ।

नेपालमा बर्डफ्लुको इतिहास हेर्दा सन् २००९ मा झापाबाट पहिलोपटक उच्च संक्रामक एभियन इन्फ्लुएन्जा (एचपीएआई) पुष्टि भएको थियो। त्यसयता २०२५ सम्म नेपालमा बर्डफ्लुका ३२० भन्दा बढी प्रकोप दर्ता भइसकेका छन्। यी प्रकोपका क्रममा तीन लाख ३५ हजारभन्दा बढी पन्छी मरेको सरकारी तथा वैज्ञानिक अभिलेखमा उल्लेख छ।

हालैका वर्षहरूमा पनि बर्डफ्लुले ठूलो आर्थिक तथा जैविक क्षति पुर्‍याएको छ। २०२३ मा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संक्रमण फैलिएपछि ११ हजार ६७२ भन्दा बढी कुखुरा, हाँस, टर्की, बट्टाई लगायतका पन्छी नष्ट गरिएको थियो। त्यतिबेला हजारौं अण्डा र दाना समेत नष्ट गर्नुपरेको थियो।

यसै वर्ष २०२६ मा देशका १० जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि करिब सात लाख पन्छी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। संक्रमण नियन्त्रणका क्रममा ११ लाखभन्दा बढी अण्डा र तीन लाख किलोग्रामभन्दा बढी दाना पनि नष्ट गरिएको थियो। काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन काभ्रे र नवलपरासी प्रभावित जिल्लामा परेका थिए।

विज्ञहरूका अनुसार बर्डफ्लु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय प्रारम्भिक पहिचान, संक्रमित क्षेत्रको तत्काल सिलबन्दी, जैविक सुरक्षा (बायोसेक्युरिटी) कडाइका साथ लागू गर्नु र सूचना प्रणालीलाई चुस्त बनाउनु हो। चिडियाखानाको पछिल्लो घटनाले भने संक्रमण देखिएपछि पनि समयमै सूचना नदिँदा जोखिम कति बढ्न सक्छ भन्ने स्पष्ट देखाएको छ।

अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले घटनाबारे विस्तृत छानबिन गरिरहेको छ। छानबिनले संक्रमण लुकाइएको हो वा व्यवस्थापकीय कमजोरीका कारण नियन्त्रणमा ढिलाइ भएको हो भन्ने निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। तर दुर्लभ वन्यजन्तु र पन्छीको संरक्षण केन्द्रकै रूपमा रहेको चिडियाखानाभित्र बर्डफ्लु फैलिनु र त्यसबारे समयमै जानकारी नदिनु भने सम्बन्धित निकायका लागि गम्भीर प्रश्न बनेको छ। चिडियाखानाभित्रको संक्रमण नियन्त्रणमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ भने वन्यजन्तु संरक्षण र जनस्वास्थ्य दुवै दृष्टिले यो घटनालाई उच्च प्राथमिकताका साथ हेरिएको छ।