रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि

५ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै

188
Shares

  • दुई हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी स्थापना भएको चार वर्षपछि हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ता चितवन पुग्ने क्रम तीव्र बनेको छ ।

महाधिवेशनका लागि चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई मुख्य स्थल बनाइएको छ । पार्टीले यसलाई आफ्नो संगठनात्मक सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक दिशानिर्देशन तय गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ ।

महाधिवेशनमा देशभरका ६६ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने भएका छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार देशभरबाट करिब ५ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक महाधिवेशनमा सहभागी हुनेछन् । प्रतिनिधि तथा कार्यकर्ताहरू चितवन पुग्ने क्रम जारी रहेको र उनीहरूको स्वागत तथा व्यवस्थापनका लागि स्थानीय तहमा विशेष तयारी गरिएको उहाँले बताउनुभयो ।

महाधिवेशनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डीआईजीहरूको नेतृत्वमा संयुक्त सुरक्षा कमान्ड खडा गरिएको छ । सुरक्षा निकायका अनुसार महाधिवेशन स्थल, आवास क्षेत्र, प्रमुख सडक तथा आगमन–प्रस्थान बिन्दुहरूमा झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

विशेषगरी सत्तारुढ दलको महाधिवेशन भएकाले सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । महाधिवेशन अवधिभर सादा पोसाकका सुरक्षाकर्मी, द्रुत प्रतिक्रिया टोली, ट्राफिक व्यवस्थापन टोली तथा निगरानी संयन्त्र सक्रिय रहने जनाइएको छ ।

सुरक्षा व्यवस्थापनका लागि चितवन जिल्ला प्रहरी कार्यालयले यातायात व्यवस्थापनको योजना पूरा गरेको छ । पूर्वबाट आउने सवारी साधन भरतपुरको केन्द्रीय बसपार्क नजिक र पश्चिम, काठमाडौं र पोखराबाट आउने सवारी वीरेन्द्र क्याम्पसको खुला मैदानमा पार्किङको व्यवस्था गरिएको छ । सटल बसको समेत प्रबन्ध गरिएको छ ।

रास्वपाले महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई वरिष्ठ अतिथिका रूपमा निमन्त्रणा दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेस केन्द्रित दलहरू तथा स्वतन्त्र अभियानका प्रतिनिधिहरूलाई समेत निमन्त्रणा पठाइएको पार्टीले जनाएको छ ।

महामन्त्री बुर्लाकोटीले राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यासको हिस्सा भए पनि राष्ट्र निर्माण सबै दलको साझा दायित्व भएकाले महाधिवेशनमा प्रमुख दलका नेताहरूको सहभागिता अपेक्षा गरिएको बताउनुभयो ।

‘निर्वाचनमा हारजित भइरहन्छ तर देश निर्माणको काम सबै मिलेर गर्नुपर्छ । त्यसैले हामीले सबै प्रमुख राजनीतिक शक्तिलाई आमन्त्रण गरेका छौं’ – उहाँले भन्नुभयो ।

यद्यपि, पछिल्लो जानकारीअनुसार प्रमुख दलका शीर्ष नेताहरूको उपस्थिति सीमित हुने देखिएको छ । अधिकांश दलबाट दोस्रो तहका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ । हर्क साम्पाङ नेतृत्वको दलले भने प्रतिनिधि नपठाउने निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेताका रूपमा बालेन्द्र शाह (बालेन) ले महाधिवेशनमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टीले बालेनको उपस्थितिलाई महाधिवेशनको प्रमुख आकर्षणका रूपमा लिएको छ ।

महाधिवेशनले पार्टीको भावी संगठनात्मक संरचना, वैचारिक दस्तावेज, राजनीतिक कार्यदिशा तथा नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । पार्टीका विभिन्न समितिहरूले लामो समयदेखि तयारी गरिरहेका प्रतिवेदन तथा प्रस्तावहरू महाधिवेशनमा पेस गरिने भएका छन् ।

रास्वपा स्थापना भएको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाएको दल हो । पहिलो महाधिवेशनलाई पार्टीभित्र नेतृत्व हस्तान्तरण, संस्थागत विकास र संगठन विस्तारको दृष्टिले महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । महाधिवेशनले आगामी निर्वाचन तथा राष्ट्रिय राजनीतिक रणनीतिका विषयमा समेत स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।

महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ, जसमा अध्यक्ष रवि लामिछाने निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । उहाँलाई १५१ सदस्यीय केन्द्रीय समितिको एक तिहाइ (५१ सदस्य) मनोनयन गर्ने अधिकार प्रदान गर्ने तयारी छ । जसले उहाँलाई थप सशक्त बनाउने देखिन्छ ।

चितवनमा महाधिवेशन केन्द्रित गतिविधि बढेसँगै स्थानीय होटल, यातायात तथा व्यापारिक क्षेत्र पनि उत्साहित बनेका छन् । होटल व्यवसायीहरूले प्रतिनिधि तथा पाहुनाका लागि विशेष छुट र सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएका छन् । महाधिवेशनले राजनीतिक गतिविधिसँगै चितवनको पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले रास्वपाको आगामी राजनीतिक यात्राको दिशा निर्धारण गर्ने भएकाले राष्ट्रिय राजनीतिक वृत्तमा समेत यसको चासो बढेको छ । सुरक्षा व्यवस्थादेखि राजनीतिक सहभागितासम्मका तयारी हेर्दा चितवन यतिबेला मुलुकको प्रमुख राजनीतिक केन्द्रका रूपमा परिणत भएको छ ।