भोटो जात्रासँगै रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन


काठमाडौं ।

बुंगद्यो, करुणामय अर्थात् रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रासँगै उपत्यकाको सबैभन्दा लामो जात्रा शनिवार सकिएको छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको बहुमूल्य हिरामोती र रत्नजडित भोटो देखाउँदै हिजो जात्रा सकिएको हो । काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा कम्तीमा एक महिनादेखि अधिकतम पाँच महिनाको अवधिमा सम्पन हुने गर्दछ । यसपटक अढाइ महिनामा रथयात्रा सकिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को उपस्थितिमा साँझ ५ बजेर ४० मिनेटमा जावलाखेलमा भोटो देखाइएको थियो । सो अवसरमा मन्त्रीहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

गुठी संस्थान ललितपुरका कर्मचारीले हिरामोती जडित भोटो रथको चारैकुनाबाट तीनपटक देखाउनुभयो । भोटोजात्राको सुरुआतबारे ऐतिहासिक अभिलेख नभए पनि यससँग जोडिएको किंवदन्तीअनुसार मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहास्वरूप बहुमूल्य गहना र हीरामोती र रत्नजडित भोटो पाएको थियो । आफूले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले ।

यसैक्रममा जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा एकजना राक्षसले उक्त भोटो लगाएको देखेपछि ती किसानले यो भोटो मेरो हो भनेर माग्दा दुई जनाबीच व्यापक विवाद हुन गयो । दुवैले भोटो आप्mनो नै भएको प्रमाण पेस गर्न सकेनन् । सो विवाद राजासमक्ष पु¥याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो ‘मेरो हो भन्छ, उसैलाई दिने’ सर्तमा नासोका रूपमा राखिएको र त्यसपछि प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन ‘भोटो कसको हो’ भनी देखाउने जात्रा सुरु गरेको किंवदन्ती छ ।

भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिएको छ । मीननाथको रथ तानेर ललितपुरको टंगालमा पु¥याइएको छ । सो कार्यसँगै यस वर्ष अढाइ महिनासम्म चलेको रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।

गत वैशाख ८ गते मंगलवार रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेसँगै रथयात्रा सुरु भएको थियो । पाटन मंगलबजारस्थित साइत फल्चामा वैशाख २४ गते बिहीबार बिहान ज्योतिषीहरू बसेर जावलाखेलमा भोटो देखाउनको लागि जुराइएको साइतमा रथ लगनखेल, इटी टोलबाट गत बुधबार तानेर जावलाखेल पु¥याइएको थियो । जावलाखेल पु¥याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भाटो देखाउने परम्परा रहेको छ ।