स्वस्थ बुढ्यौलीका लागि योगः अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइँदै


काठमाडौं ।

‘स्वस्थ बुढ्यौलीका लागि योग’ भन्ने मूल नारासहित ११औँ अन्तर्राष्ट्रिय योग दिवस असार ७ गते (जुन २१) देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको आयोजनामा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं, ललितपुर र भक्तपुर तथा आयुर्वेद क्याम्पसको संयुक्त सहकार्यमा दिवस मनाउन लागिएको हो। यस वर्षको मुख्य कार्यक्रम बुढानीलकण्ठ नगरपालिका–४ स्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र मा असार ७ गते बिहान ७ः३० बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा सामूहिक योग अभ्यास, योग तथा प्राणायामको महत्वबारे प्रवचन, वक्तृत्वकला प्रतियोगिता तथा अन्य जनचेतनामूलक गतिविधि समावेश गरिएका छन्।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय ले ‘स्वस्थ बुढ्यौलीका लागि योग’ नाराले जीवनका हरेक चरणमा योगको महत्वलाई उजागर गर्ने बताए। उनका अनुसार नियमित योगाभ्यासले शारीरिक लचिलोपन, मानसिक शान्ति, आत्मनिर्भरता तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ। उनले वर्तमान व्यस्त जीवनशैली, बढ्दो मानसिक तनाव तथा नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि योगलाई प्रभावकारी माध्यमका रूपमा अपनाउन सबैमा आग्रह गरेका छन्।

विभागका अनुसार दिवसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सरसफाइ, पत्रकार अन्तरक्रिया तथा मञ्च सजावटलगायतका पूर्वतयारी कार्यक्रम सम्पन्न भइसकेका छन्। साथै, ‘स्वस्थ बुढ्यौलीका लागि योग’ विषयमा आयुर्वेद क्याम्पसका विद्यार्थीबीच प्रतिस्पर्धात्मक वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय योग दिवस सन् २०१४ मा संयुक्त राष्ट्रसंघ बाट घोषणा भएपछि सन् २०१५ देखि विश्वभर मनाउन थालिएको हो। हरेक वर्ष जुन २१ मा योगका फाइदा, स्वस्थ जीवनशैली र मानव स्वास्थ्यमा यसको योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिन्छ।