वाणिज्य नीति २०८१ कार्यान्वयन कार्ययोजना स्वीकृत, निर्यात प्रवर्द्धनमा जोड


काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वाणिज्य नीति, २०८१’ को कार्यान्वयन कार्ययोजना स्वीकृत गरी लागू गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत कार्ययोजनाले सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारलाई आफ्नो कार्यक्षेत्रअनुसार नीति कार्यान्वयनका कार्यक्रम र बजेट समावेश गर्न निर्देश गरेको छ।

कार्ययोजनामा निर्यात प्रवर्द्धन, व्यापारिक पूर्वाधार विकास तथा निजी क्षेत्रको साझेदारीलाई प्राथमिकता दिइएको छ। निर्यात सम्भावना भएका वस्तुको उत्पादन र निकासी बढाउन विशेष कार्यक्रम सञ्चालन गरिने तथा गोदाम, शीतभण्डार, गुणस्तर परीक्षण प्रयोगशाला र क्वारेन्टाइन सुविधाको विस्तार गरिने उल्लेख छ।

यसैगरी, वर्षमा कम्तीमा एक अन्तर्राष्ट्रिय व्यापार मेला नेपालमा आयोजना गर्ने र पाँच अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली निर्यातकर्ताको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। निर्यातमुखी उद्योगलाई उत्पादनमा आधारित सुविधा तथा सहुलियत उपलब्ध गराउने कार्यविधि पनि २०८३ सालभित्र कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।