बक्स अफिसले तोड्यो हावादारी व्यापारको मिथक

टाउको गन्ने युगबाट रियल–टाइम तथ्यांकसम्म, नेपाली फिल्म उद्योगमा पारदर्शिताको नयाँ अध्याय

846
Shares

काठमाडौं ।

नेपाली फिल्म उद्योगमा वर्षौंदेखि चल्दै आएको ‘फिल्मले कति कमायो ?’ भन्ने विवाद अब इतिहास बन्दै गएको छ । एक समय निर्माताले हलहलमा चेकर खटाएर दर्शकको टाउको गन्नुपर्ने अवस्था थियो भने अहिले मोबाइल वा कम्प्युटरको एउटा क्लिकमै देशभरका सिनेमा हलको व्यापारिक विवरण हेर्न सकिने भएको छ । देशभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू भएपछि नेपाली फिल्म उद्योगले पारदर्शितातर्फ महत्वपूर्ण फड्को मारेको छ ।

केही वर्षअघिसम्म फिल्मको वास्तविक व्यापारबारे निर्माता, वितरक र प्रदर्शकबीच अविश्वासको ठूलो खाडल थियो । हल सञ्चालक र वितरकले दिएको विवरणलाई नै अन्तिम सत्य मान्नुपर्ने बाध्यता थियो । टिकट बिक्री र आम्दानीको वास्तविक तथ्यांक नहुँदा विवाद, आरोप–प्रत्यारोप र सम्बन्ध बिग्रिने घटनासमेत सामान्य थिए ।

व्यापारको वास्तविक अवस्था बुझ्न निर्माताले आफ्नै खर्चमा देशभरका सिनेमा हलमा ‘चेकर’ खटाउँथे । उनीहरूले हलमा प्रवेश गरेका दर्शकको टाउको गनेर व्यापारको अनुमानित रिपोर्ट तयार गर्थे । तर, त्यही प्रणाली पनि पूर्ण विश्वसनीय थिएन । चेकर आर्थिक वा अन्य प्रभावमा परेर प्रलोभनमा फसी तथ्यांक लुकाइने गुनासो उद्योगमा व्यापक थियो । यसका लागि कतिपय निर्माताले आफ्नै परिवारका सदस्यलाई निगरानीमा खटाउने र स्वयम् हलहल पुगेर व्यापारिक अवस्था बुझ्ने अवस्थासमेत थियो ।

अहिले भने यो दृश्य फेरिएको छ । बक्स अफिस प्रणालीले प्रत्येक सोको टिकट बिक्री, दर्शक संख्या र कलेक्सनलाई डिजिटल अभिलेखमा रूपान्तरण गरेको छ । निर्माता, वितरक र सम्बन्धित पक्षले रियलटाइममा व्यापार हेर्न सक्ने भएकाले व्यापारिक तथ्यांक लुकाउने वा तोडमोड गर्ने सम्भावनाको अन्त्य भएको छ ।

बक्स अफिस प्रणालीको सबैभन्दा ठूलो प्रभाव भने ‘हावादारी कलेक्सन’ को अन्त्य भएको देखिएको छ । विगतमा सामान्य व्यापार गरेका फिल्मलाई समेत करोडौं कमाइ गरेको भन्दै प्रचार गर्ने चलन थियो । कतिपयले आफ्नो प्रभाव बढाउन वा नयाँ लगानीकर्ता आकर्षित गर्न तथ्यांकलाई बढाइचढाइ गरेर प्रस्तुत गर्ने गरेको आरोप लाग्थ्यो । वास्तविक आम्दानी र सार्वजनिक दाबीबीच ठूलो अन्तर हुने अवस्था उद्योगका लागि खुला रहस्यजस्तै थियो ।

तर, अहिले चलचित्र विकास बोर्डमा जडित सिनेपा बक्स अफिस प्रणालीमार्फत संकलित तथ्यांक बोर्डले नियमितरूपमा सार्वजनिक गर्दै आएको छ । कुन फिल्मले कति दर्शक तान्यो, कति टिकट बिक्री भयो र कति ग्रस कलेक्सन ग¥यो भन्ने विवरण आधिकारिक रूपमा सार्वजनिक हुने भएकाले मनपरी दाबी गर्ने ठाउँ साँघुरिएको छ । फिल्मको सफलता अब प्रचारको भाषणबाट होइन, व्यापारिक तथ्यांकको भाषाले मापन हुन थालेको छ ।

फिल्मकर्मीका अनुसार बक्स अफिस प्रणालीले केवल व्यापारिक पारदर्शिता मात्रै ल्याएको छैन, उद्योगप्रतिको विश्वास पनि बढाएको छ । लगानीकर्ताले वास्तविक बजारको आकार बुझ्न पाएका छन् भने निर्माताले आफ्नो लगानीको सही मूल्यांकन गर्न सक्ने भएका छन् ।
एक समय ‘कसले कति कमायो ?’ भन्ने प्रश्न विवादको विषय बन्थ्यो ।

अहिले त्यसको जवाफ मोबाइल र कम्प्युटरको स्क्रिनमा देखिने आधिकारिक तथ्यांकले दिन थालेको छ । नेपाली फिल्म उद्योगका लागि यो केवल प्राविधिक परिवर्तन होइन, वर्षौंदेखिको अविश्वास अन्त्य गर्ने संरचनागत सुधारको संकेत पनि भएको फिल्मकर्मीको अनुभव छ ।