यसै वर्षबाट हेटौँडा कपडा र बुटवल धागो उद्योग सञ्चालनमा आउँछन् : उद्योगमन्त्री


काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले लामो समयदेखि रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योगलाई चालु आर्थिक वर्षभित्रै पुनः सञ्चालनमा ल्याइने बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री कुमारीले उद्योग सञ्चालनसँगै कपासखेती प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिने जानकारी दिइन्।

उनले कपडा, धागो र कपास उत्पादनलाई एकीकृत रूपमा अघि बढाएर स्वदेशी उत्पादन तथा रोजगारी वृद्धि गर्ने सरकारको योजना रहेको उल्लेख गरिन्।

“रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योगलाई पहिलो चरणमा सञ्चालनमा ल्याइनेछ। कपडा र धागो उद्योगसँगै कपासखेतीको विकासलाई पनि समानान्तर रूपमा अगाडि बढाइन्छ,” मन्त्री कुमारीले भनिन्।

यस अवसरमा उनले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने कार्यक्रमसमेत कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिँदै ऊर्जा क्षेत्रमा स्वदेशी स्रोतको उपयोग बढाउने दिशामा सरकार अघि बढिरहेको बताइन्।