रौतहटमा ९० लाखभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद, नियन्त्रणका क्रममा झडप

1.6k
Shares

रौतहट ।

भारत लैजान लागेको अबैध फर्सीको बीउ बरामद गर्ने क्रममा स्थानीय र प्रहरी बीच झडप हुदा ६ जना घाईते भएका छन । घाईते हुनेमा बौधिमाई नगरपालिका कार्यपालिका सदस्य समेत रहेका छन । रौतहटको बौधीमाई नगरपालिका–७ बाँडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा लुकाइ भण्डारण गरिएको ठूलो परिमाणको फर्सीको बिउ बरामद गर्ने क्रममा स्थानीय र प्रहरी बीच झडप हुदा तीन जना स्थानीय र तीन जना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा बौधीमाई नगरपालिका–७ निवासी ४० वर्षीया सुदामा देवी राय, ४० वर्षीया हिरा मोतिया देवी यादव तथा ४५ वर्षीय जयलाल ठाकुर हजाम रहेका छन् । जयलाल ठाकुरको खुट्टामा प्रहरीको गोली लागेको छ । ठाकुर बौधिमाई नगरपालिका कार्यपालिका सदस्य हुन भने उनको चन्द्र ज्योति कान्ती अस्पताल, बंकुलमा उपचार भइरहेको छ । सुदामा देवी र हिरा मोतिया देवीको अवस्था सामान्य रहेको छ भने जयलाल ठाकुरको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी तीन जना प्रहरी घाइते भएका छन ।

घाइते हुनेमा प्रहरी वरिष्ठ हवल्दार गजेन्द्र यादव, प्रहरी सहायक हवल्दार सम्झना चौधरी र प्रहरी सहायक हवल्दार देवराज महतो रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको तथा उपचारपछि कार्यालयमा फर्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार राती मस्जिद पछाडि नेपाल–भारत सीमाको बाटो छेउमा त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिन क्रममा स्थानीय संग प्रहरीको झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो भने पछि इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले थप २ राउण्ड अश्रुग्यास फायर गरेको जनाएको छ । प्रहरीले उक्त स्थानबाट ३ सय २२ बोरा फर्सीको बिउ बरामद गरेको छ । प्रति बोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम फर्सीको बिउ बरामद भएको हो । प्रति बोरा २८ हजार रुपैयाँका दरले मूल्यांकन गर्दा बरामद बिउको कुल मूल्य ९० लाख १६ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब उपरीक्षक बसन्त गौतमको कमाण्डमा ५४ जना तथा सशस्त्र प्रहरी बलतर्फबाट २० जनाको टोली परिचालन गरिएको थियो । झडपका क्रममा तीन जना स्थानीय घाइते भएका छन् । प्रहरीले बरामद गरिएको फर्सीको बिउ सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।