काठमाडौं ।
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले संगठनको आवश्यकता, कार्यसम्पादन मूल्याङ्कन, जनशक्ति व्यवस्थापन तथा प्रशासनिक सन्तुलनलाई मध्यनजर गर्दै ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी सरुवा सूचीअनुसार देशभरका विभिन्न प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर, इलाका प्रहरी कार्यालय तथा विशेष इकाइहरूमा कार्यरत निरीक्षकहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले दोस्रो कार्यकालका लागि मन्त्रालयमा हाजिर भएको दोस्रो दिनमै प्रहरी संगठनभित्र व्यापक सरुवा गरिएको हो। गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै गरिएको यो सरुवालाई सुरक्षा प्रशासनमा जनशक्ति पुनःव्यवस्थापन र कार्यसम्पादन प्रभावकारिता बढाउने प्रयासका रूपमा हेरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको सरुवाले संगठनभित्र कार्यगत दक्षता अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा आवश्यक स्थानमा जनशक्तिको सन्तुलित व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरुवा भएका निरीक्षकहरूलाई तोकिएको नयाँ कार्यस्थलमा यथाशीघ्र हाजिर हुन निर्देशन दिइएको छ।
प्रहरी संगठनमा एकैपटक यति ठूलो संख्यामा निरीक्षकहरूको सरुवा हुनु पछिल्लो समयकै महत्वपूर्ण प्रशासनिक निर्णयमध्ये एक मानिएको छ। प्रहरी प्रधान कार्यालयले सरुवा सूची सार्वजनिक गर्दै सम्बन्धित प्रहरी कर्मचारीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्न आग्रह गरेको छ।
सूचीसहित
https://drive.google.com/file/d/1bBr3MV5g8YmrgkRk31Kvzu4_lt4ICyxA/view?usp=sharing











प्रतिक्रिया