उपाधिका लागि नेपाल पुलिस र डीएभी भिड्ने


काठमाडौं । 

काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल (डीएभी) बीच उपाधि भिडन्त हुने भएको छ । 

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको डीएभीले प्रसिद्ध जैशीको ४९ र बिराज जैसवालको ३७ रनको मद्दतमा ७ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो । जसमा जेम्सका स्वराज चौलागाईंले ३ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको जेम्स स्कुलले स्वराजको २७ रनका बाबजुद २० ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्र बनाउन सकेपछि डीएभी ४४ रनले विजयी भयो । जहाँ डीएभीका कुञ्जन आचार्यले २ विकेट लिए भने उत्कृष्ट प्रदर्शनका लागि प्रसिद्ध जैशी ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ चुनिए । 

त्यसैगरी, दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयमाथि ८ रनको रोमाञ्चक जित दर्ता गर्दै फाइनल यात्रा तय गर्‍यो । पहिले ब्याटिङ गरेको पुलिस स्कुलले प्रियंशुकिशोर राउतको ३६ र मोहम्मदअब्बास साफीको ३२ रनको योगदानमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । जसमा सैनिकका सफल पौडेलले ३ विकेट लिए । १४७ रनको लक्ष्य पछ्याएको सैनिकले राजदिप आचार्यको ६४ रनको उत्कृष्ट इनिङ्सका बाबजुद २० ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र जोड्न सक्यो । पुलिसका प्रियंशुकिशोर, सुनिल ठाकुर, आर्यन साह, सुजित यादव र सागर सिंहले १–१ विकेट बाँडे भने खेलको प्लेयर अफ द म्याच प्रियंशु घोषित भए ।

अब प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान १० बजे माथिल्लो मूलपानी मैदानमा हुनेछ । जसको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । काठमाडौं जिल्ला क्रिकेट संघद्वारा जेठ १९ गतेदेखि आयोजित यस प्रतियोगितामा देशभरका २४ टोलीले सहभागिता जनाएका छन् ।