काठमाडौँ।
जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको हो ।
सिंहविरुद्ध अदालतमा दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । जसमध्ये लिखत किर्तेसम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेस गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ ।
मंगलबार बिहान सवा ६ बजे पर्साको ठोरीबाट जिल्ला प्रहरी कार्यालयको टोलीले मेयर सिंहलाई पक्राउ गरेको थियो । पक्राउ परेकै दिन प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो ।
सिंहविरुद्ध गत जेठ १२ गते लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । स्थानीय लियाकत अलीले मेयर सिंहसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले यस मामलामा अनुसन्धान अगाडि बढाएको थियो ।











प्रतिक्रिया