काठमाडौँ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।
शितलनिवासमा शुक्रबार आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कृषक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन् । कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताइन् ।
मन्त्री चौधरीले सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिंचाई, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको समेत बताएकी छन् । यद्यपि कृषकहरूले अझै पनि विभिन्न चुनौती झेल्नुपरेको विषयमा मन्त्रालय गम्भीर र सचेत रहेको उनले बताइन्।
उनले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा मात्र नभई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेकी छन् । स्वदेशी उत्पादन र दिगो कृषिलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री चौधरीले नेपालको कृषि प्रवद्र्धनका लागि सरकारसँगै निजी क्षेत्र र सरोकारवाला निकायहरू एकजुट हुनुपर्ने आवश्यकता रहेकाे बताइन् ।
मन्त्री चौधरीले कृषिमा लगानी वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, प्रभावकारी बजारीकरण तथा युवाको सहभागिता अभिवृद्धितर्फ सबै पक्षको साझा प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।











प्रतिक्रिया