लन्डन, (एजेन्सी) ।
विश्व नम्बर एक जानिक सिनर पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा दोस्रो चरणमै पराजित भएका छन् । इटालियन खेलाडीलाई बिल्कुल नयाँ खेलाडी जुआन मेन्युल सेरेनडोलोले स्तब्ध बनाएका हुन् ।
सिनरले पहिलो दुई सेट ६–३, ६–२ ले जितेपछि यो खेल सहजै जित्ने अनुमानमा थियो । तर, सेरेनडोलोले यसपछिका तीनै सेट जितेर प्रतियोगितामा सबैभन्दा स्तब्धपूर्ण नतिजा निकाल्न सफल भए । अर्जेन्टिनी खेलाडीले एक प्रसिद्ध जित निकाल्ने क्रममा अन्तिम तीन सेट ७–५, ६–१, ६–१ ले जितेका हुन् ।
प्रतियोगिता हुनअघि सिनरको उपाधि पक्का भनिएको थियो । सबैजसो टेनिस विज्ञहरूले सिनरलाई हराउने कोही छैनन् भन्दै उनले उपाधि जित्ने भविष्यवाणी गरेका थिए ।
गत संस्करणका विजेता कार्लोस अल्काराज चोटको कारण प्रतियोगितामा अनुपस्थित हुनु र फेबु्रवरीमा ज्याकुब मेन्सिकसँग हारेपछि कुनै खेलमा हार नबेहोरेकोले पनि सिनरले यो उपाधि जित्ने अनुमान बनेको थियो ।
अब, उनको पराजयपछि अल्काराज र सिनरभन्दा बाहिरका खेलाडीले ग्रान्डस्लाम जित्ने पक्का पनि भएको छ । यसअघि २०२३ को यूएस ओपनदेखि यी दुई खेलाडीले ग्रान्डस्लाम उपाधि जित्दै आएका थिए ।











प्रतिक्रिया