काठमाडौं ।
नेपाली राष्ट्रिय महिला भलिबल टोली राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
आयोजक नेपाली टोलीलाई बिहीबार भएको खेलमा इरानी टोलीले ३–० को सोझो सेटमा हराएको हो । योसँगैं फाइनल खेलमा इरान र काजाकस्तानबीच उपाधि भिडन्त हुने भएको छ । काजाकस्तानले यसअघिको सेमिफाइनल खेलमा भारतलाई सीधा सेटमै हराएको हो ।
कभर्ड हलमा खचाखच दर्शक भरिएपनि नेपाली टोलीले इरानलाई हराउन सकेन ।
पहिलो सेटमा १४–१४ बराबरी अंकसम्म नेपालले इरानलाई चुनौती दिएको थियो । तर, यसपछि भने नेपालमाथि इरान पूरै हावी भएको थियो । कुनै बेला पनि नेपालले इरानको आक्रमक प्रदर्शनविरुद्ध ठोस चुनौती पेश गर्न सकेन ।
पहिलो सेटमा १४–१४ बराबरीपछि इरानले ११ अंक जोड्दा नेपालले मात्र ६ अंक जोडेको थियो । यो सेट नेपालले २०–२५ अंकले गुमाएको थियो । पहिलो सेटमा गुमाएको नेपालले दोस्रो सेट १५–२५ अंकले गुमायो भने तेस्रो सेट ११–२५ अंकले गुमाएको थियो ।
नेपाल इरानसँग हारेको यो दोस्रोपटक हो । यसअघि २०२४ को काभा महिला च्यालेन्जअन्तर्गत लिग चरणमा नेपाल इरानसँग ३–२ सेटले हारेको थियो । तर, सेमिफाइनलमा इरानलाई हराएर नेपालले सो प्रतियोगिताको फाइनल खेलेको थियो ।











प्रतिक्रिया