रबिन्द्र ढाँट ’रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश


काठमाडौं ।

नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएए) को इतिहास पुरुष रबिन्द्र ढाँट (बझाङका बाघ) ले मकाउको ग्यालेक्सी एरिनामा जारी प्रतिष्ठित ‘रोड टु युएफसी सिजन– ५’ को सेमिफाइनलको ऐतिहासिक यात्रा तय गरेका छन् । ब्यान्टमवेट क्वार्टरफाइनलमा फिलिपिन्सका खतरनाक फाइटर किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्डमै स्तब्ध पार्दै उनले ऐतिहासिक यात्रा तय गरेका हुन् ।

विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित फाइटिंग लिग युएफसीको आधिकारिक कन्ट्रयाक्ट पाउन अब मात्र दुई जित टाढा रहेका रविन्द्रको यो सफलता समग्र नेपाली मार्सल आट्र्सकै इतिहासमा एउटा अभूतपूर्व र ऐतिहासिक अध्याय हो । किनकि कुनै पनि नेपाली फाइटर यो स्तरको उच्च अन्तर्राष्ट्रिय मञ्चको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।

भारतको चर्चित ‘मेट्रिक्स फाइट नाइट’ (एमएफएन) का च्याम्पियन समेत रहेका रविन्द्रको सुरुमा म्याटी इआनसँग खेल्ने तय भए पनि इआन घाइते भएपछि अन्तिम समयमा उनको भिडन्त फिलिपिन्सका किम्बर्टसँग भएको हो ।

जहाँ सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै रविन्द्रले किम्बर्टलाई लगातार दबाबमा राखेर आफ्नो व्यावसायिक एमएमए करियरको १०औं जित दर्ता गर्न सफल भए । यस ऐतिहासिक जितपछि प्रतियोगितास्थलमा उपस्थित नेपाली समर्थकहरूले गौरवका साथ ‘जय नेपाल’ को नारा लगाउँदा भावुक बनेका रविन्द्रले पनि उत्साहित हुँदै ‘जय नेपाल’ र ‘जय हनुमान’ भन्दै खुसी व्यक्त गरे ।

उनले आफ्नो यो सफलतामा महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक तथा विश्वभर रहेका सम्पूर्ण नेपाली समर्थकप्रति हार्दिक आभार प्रकट गर्दै आगामी खेलहरूमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन जारी राख्ने दृढ प्रतिबद्धता जनाए ।