गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र नै : दाहाल


काठमाडौं ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको ऐतिहासिक संघर्ष, बलिदान र त्यागबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे। उनले गणतन्त्रलाई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय र समान अवसरमा आधारित शासन प्रणालीको रूपमा व्याख्या गरे।

दाहालले संविधानअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै सुशासन र पारदर्शितासहित राज्य सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले संविधानसभाबाट २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा हुनु ऐतिहासिक उपलब्धि भएको स्मरण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।

उनले आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूप्रति उच्च सम्मान प्रकट गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध र न्यायपूर्ण समाज निर्माणमा सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको बताए।