गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाऔँ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन सबै पक्षलाई दृढ सङ्कल्प गर्न आह्वान गरेकी छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई राष्ट्रिय लक्ष्य बनाउनुपर्नेमा जोड दिइन्।

भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउँदै राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गरिन्। उनले विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले राज्यप्रति अपनत्व र सम्मानको अनुभूति गर्न पाउनुपर्ने धारणा व्यक्त गरिन्।

उनले गणतन्त्र स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका अग्रजहरूको योगदानलाई सम्मान गरेकी छन्। साथै, मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डता कायम राख्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिइन्।