१२ करोड भ्रष्टाचार काण्डमा मुछिएका कर्ण चलखेलमा

कर्णाली प्रदेशमा सेवाग्राहीलाई सास्ती दिँदै


काठमाडौं।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरे पनि त्यसबाट उम्कन कर्णले विभिन्न तिकडम र चलेखल गरिरहेका छन् । कर्णसहित १३ जनाविरुद्ध अख्तियारले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपियाँ बिगो माग गर्दै मुद्दा दायर गरेको थियो ।

आयोजनाबाट चारवटा मोबाइल भ्यान खरीद गरेको भनिए पनि तत्कालीन महानिर्देशक कर्णले कार्यालयमा दाखिला नगरी प्राप्त भएको विवरण तयार पारी भ्रष्टाचार गरेको दावी अख्तियारको छ । उक्त भ्यानको आपूर्तिकर्तासँगको मिलेमतो गरी गैरकानुनी लाभ लिई नेपाल सरकारलाई हानि नोक्सानी पु¥याएको अध्ययनबाट पत्ता लागेको आयोगले जनाएको छ । चार थान प्रयोगशाला मोबाइल भ्यानको दुईपटक गरी २४ करोड ८० लाख ९५ हजार १ सय १६ रुपियाँ हिनामिना गरेको पाइएको थियो ।

कर्णलाई विशेष अदातले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा गएको छ । विशेषले स्पष्ट आधारविना नै कर्णलाई सफाइ दिएको अख्तियारको दाबी छ । अख्तियारले कर्णले १२ करोड बढी भ्रष्टाचार गरेको विभिन्न आधार पेस गर्दै सर्वोच्चमा गएपछि अहिले सो मुद्दा सर्वोच्चमा विचाराधीन छ । विशेषको फैसला भने विवादमा तानिँदै आएको छ । यस प्रकरणमा भ्रष्टाचारमा मुछिएका मुख्य व्यक्ति कर्ण अहिले पनि न्याय क्षेत्रका विभिन्न शक्तिकेन्द्र धाउँदै चोखिने प्रयास गरिरहको स्रोतले जानकारी दिएको छ । यसअघि कर्णलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशविरुद्ध न्यायपरिषद्मा समेत उजुरी पर्ने स्रोतको दाबी छ । कर्ण हाल कर्णाली प्रदेशमा कृषि सचिवका रुपमा कार्यरत हुनुहुन्छ । त्यहाँ रहँदा कर्णले सेवाग्राहीलाई विभिन्न दुःखकष्ट दिने गरेको भन्दै सेवाग्राहीहरु उहाँसँग असन्तुष्ट बन्ने गरेका छन् । केही सेवाग्राहीले उहाँमाथि कारबाहीको माग समेत गर्दै आएका छन् । उहाँविरुद्ध भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासाहरुसमेत परेको बताइएको छ ।