‘नोभा’ आइसक्रिममाथि प्रश्न: गुणस्तरहीन उत्पादन बजारमै, उपभोक्तालाई सतर्क रहन आग्रह


काठमाडौं।

बजारमा बिक्री भइरहेको ‘नोभा’ ब्रान्डको आइसक्रिमको गुणस्तरमाथि गम्भीर प्रश्न उठेपछि सरोकारवाला निकायले उपभोक्तालाई सतर्क रहन आग्रह गरेका छन्।
सरकारी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त आइसक्रिममा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणुको मात्रा मापदण्डभन्दा बढी भेटिएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिइएको हो । फिस्टेल डेरी प्रालिअन्तर्गत उत्पादन हुँदै आएको ‘नोभा’ ब्रान्डको आइसक्रिमबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान तथा अनुगमन तीव्र बनाएको जनाएको छ । विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा ‘टोटल ब्याक्टेरिया काउन्ट’, ‘कोलिफर्म काउन्ट’ तथा ‘इन्टेरोब्याक्टेरिएसी काउन्ट’ मापदण्डभन्दा माथि भेटिएको हो ।

सरकारी निकायले विशेषगरी ‘नोभा चकलेट आइसक्रिम’को एक हजार मिलिलिटर प्याकमा समस्या देखिएको जनाएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार उक्त उत्पादन तत्काल बजारबाट फिर्ता लिन तथा बिक्रीवितरण रोक्न आदेश जारी गरेको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनामा मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य वस्तुमा गुणस्तरहीनता भेटिनु गम्भीर विषय भएको उल्लेख गरिएको छ । विभागका एक अधिकारीका अनुसार उपभोक्ताले तत्काल त्यस्ता उत्पादन खरिद तथा सेवन नगर्नु उपयुक्त हुन्छ ।

‘खाद्य पदार्थमा हानिकारक जीवाणु भेटिनु सामान्य विषय होइन । यसले बालबालिका, वृद्ध तथा कमजोर स्वास्थ्य भएका व्यक्तिमा गम्भीर असर पार्न सक्छ’ –विभागका एक प्राविधिकले बताए । विभागले बजारमा रहेका सम्बन्धित ब्याचका उत्पादन फिर्ता गर्न उद्योगलाई निर्देशन दिइएको जनाएको छ । तर, बजारमा अझै पनि उक्त ब्रान्डका आइसक्रिम खुलेआम बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकारकर्मीहरूले सरकारी निर्देशनपछि पनि विवादित उत्पादन बजारमा देखिनु नियामक निकायको कमजोरी र उद्योगको गैरजिम्मेवारी दुवै भएको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका एक प्रतिनिधिले भने– ‘मानव स्वास्थ्यसँग जोडिएको विषयमा उद्योगले गम्भीरता देखाउनुपर्छ । यदि, गुणस्तरमा समस्या देखिएको हो भने तत्काल उत्पादन फिर्ता गरेर उपभोक्तासँग माफी माग्नुपर्छ ।’

केही उपभोक्ताले सामाजिक सञ्जालमार्फत आइसक्रिमको स्वाद, गन्ध र गुणस्तरबारे समेत प्रश्न उठाएका छन् । यद्यपि, उद्योगले भने आफ्नो सीमित ब्याचमा मात्रै समस्या देखिएको दाबी गर्दै बजारबाट फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको जनाएको भए पनि अहिलेसम्म ती ब्याचका आइसक्रिम बजारबाट फिर्ता लगेको देखिँदैन । घटनापछि खाद्य सुरक्षा प्रणालीमाथि समेत प्रश्न उठेको छ । गुणस्तरहीन खाद्य वस्तु बजारसम्म कसरी पुग्यो ? नियमित अनुगमन प्रभावकारी छ कि छैन ? भन्ने विषयमा बहस सुरु भएको छ ।

विशेषज्ञहरूका अनुसार डेरी तथा आइसक्रिमजन्य उत्पादनमा तापक्रम व्यवस्थापन, स्वच्छता र उत्पादन प्रक्रियामा सानो लापरबाहीले समेत गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । विशेषगरी गर्मीयाममा दूषित डेरी उत्पादनले झाडापखाला, फुड प्वाइजनिङ तथा आन्द्रासम्बन्धी संक्रमण बढाउन सक्छ । सरकारी निकायले उपभोक्तालाई खाद्य वस्तु खरिद गर्दा उत्पादन मिति, ब्याच नम्बर र गुणस्तरसम्बन्धी विवरण ध्यानपूर्वक हेर्न आग्रह गरेको छ । कुनै खाद्य पदार्थमा शंका लागे सम्बन्धित निकायमा उजुरी गर्नसमेत अनुरोध गरिएको छ ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षाको विषयमा उद्योग, नियामक निकाय र बजार सबै जिम्मेवार बन्नुपर्ने देखिएको छ । अन्यथा नाफाको नाममा गुणस्तरहीन खाद्य वस्तु बजारमा पुग्दा त्यसको मूल्य आम नागरिकको स्वास्थ्यले चुकाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।