३५ दिने सूचनाको ३ वर्षपछि चल्यो फिर्केमा डोजर, हट्यो अतिक्रमण

1.69k
Shares

खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी  १६० वटा संरचना निर्माण गरिएको छ 

मिति २०८० कार्तिक महिना । पोखरा महानगरपालिकाले एउटा सूचना जारी ग¥यो । ‘पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र ) पर्ने स्थायी तथा अस्थायी संरचनाहरू  यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले  सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने ब्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’

यो सूचनाले फिर्के अतिक्रमण गरी बसेकाहरुमा खैलाबैला भयो । एक्सनमा जान खोजेको महानगरपालिका जान सकेन । स्थानीय उच्च अदालत धाए । तत्काल नभत्काउन पाएको आदेशले महानगरपालिका रोकियो । त्यसपछि पनि धमाधम फिर्के अतिक्रमणमा परिरह्यो । उक्त ३५ दिने सूचनाको ३ वर्षपछि बल्ल पोखरा महानगरपालिकाले फिर्केमा डोजर चलाउन सकेको छ । आइतबार फिर्के खोलाको खोलाघरभित्र बनेको संरचनामाथि डोजर चलाएको हो । महानगरपालिकाले सार्वजनिक गरेको ३५ दिने सूचना सकिए लगत्तै धमाधम डोजर चलाउन सुरु भएको हो । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले केही दशक अघिसम्म पिउन योग्य पानी बग्ने खोला रहेपनि जमिन अतिक्रमणको सिकार मात्र नभई फोहोर विसर्जन गर्ने स्थलसमेतको रुपमा परिणत हुँदै गइरहेको बताउनुभयो । 

उहाँका अनुसार खोलाघरभित्र १६० भन्दा बढी संरचना निर्माण गरिनुका साथै खोलाको प्राकृतिक बहाव नै अवरुद्ध भएपछि वर्षायाममा फिर्के खोला बस्ती र सहरभित्र पस्ने अवस्था सिर्जना भएको थियो । 

२०८० सालमा फिर्के खोलाको नापजाँच गरी सीमांकनका लागि पोल गाड्ने काम भएको थियो । ३५ दिनभित्र खोलाघरभित्रका संरचना हटाउन आह्वान गरेको उहाँले बताउनुभयो । त्यसक्रममा अदालतबाट अन्तरिम आदेश जारी भएपछि प्रक्रिया केही समय रोकिएको उहाँको भनाइ छ । अहिले पुनः अदालतबाट महानगरपालिकाकै पक्षमा आदेश प्राप्त भएपछि उक्त प्रक्रिया पुनः अगाडि बढाइएको उहाँ बताउनुहुन्छ ।

अहिले खोलाघर खाली गर्ने तथा फिर्के खोलालाई प्राकृतिक रूपमा बग्न दिने अभियानमा सबैको साथ पाउने उहाँको विश्वास रहेको छ । ‘लामो समयदेखि फिर्के खोलाको मापदण्डबारे अन्योल कायम थियो । खोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल कोरिडोर निर्माण गर्नुको सट्टा फुटट्रेल, साइकल लेन, मर्निङ तथा इभिनिङ वाक र पैदल यात्राको आकर्षक गन्तव्यका रूपमा विकास गर्न उपयुक्त हुने सुझाव प्राप्त भएका थिए । विज्ञहरूको समेत साझा राय र लामो छलफलपश्चात् यही विषयलाई हृदयङ्गम गर्दै खोलाघरको सीमाबाट कायम रहेको १० मिटर मापदण्डलाई घटाएर ६ मिटर कायम गरिएको छ’ मेयर आचार्यले भन्नुभयो । 

खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के कोरिडोर परियोजनाबारे व्यापक छलफल गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिनेछ । यस्तै फिर्के बचाउनका लागि खबरदारी गर्दै आइरहनुभएका सामाजिक अभियन्ता रामबहादुर पौडेलले हिजो राजनैतिक दलको बलमा अतिक्रमणकारीहरुले अटेर गर्दै आइरहेको बताउनुभयो । उहाँले पोखरा महानगरपालिकादेखी अख्तियारसम्मले हिजो केही गर्न नसकेको र आज बालेन शाहले काठमाडौंको अतिक्रमित हटाएपछि मात्रै यहाँ सम्भव भएको बताउनुभयो । ‘हामी फिर्के अतिक्रमणको विषयमा धेरै बोल्यौ करायौँ तर, कहीँ कतै कसैले सुनेनन्, आज केही हदसम्म खोलाले न्याय पाएको छ’ उनले भने, ‘अब फिर्के फेरी फर्कनेमा विश्वास लिएका छौं ।’ 

के थियो ३ वर्ष अघि तगारो बनेको उच्चको आदेश ?

महानगरपालिकाले निकालेको ३५ दिने सूचनामा कारण देखाऊ आदेश जारी भएको थियो । राजन रौनियारले पोखरा महानगरपालिकालाई विपक्षी बनाएर २०८० कात्तिक १० गते सूचना रोक्न माग गर्दै सर्वोच्च गुहारेका थिए । 

उच्च अदालत पोखरा इजलास नं.२ मा न्यायाधीश मिलन कुमार राईको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काल नहटाउन भनेको थियो । उक्त आदेशमा भनिएको थियो, ‘विपक्षीबाट मिति २०८०÷७÷१० मा प्रकाशित सूचना अनुसारको कार्य रोकिदा विपक्षीहरुलाई तत्काल क्षति हुन जाने अवस्था नरहनुको अतिरिक्त उक्त मितिको सूचना रोक्ने आदेशबाट पुग्न जाने क्षति भएमा सो उपरमा कानुनी उपचार प्राप्त गर्ने मार्ग समेत रहने हुँदा सुविधाको सन्तुलनका आधारमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागे सम्म विपक्षी पोखरा महानगरपालिका बाट मिति २०८०÷७÷१० मा प्रकाशित सूचना अनुसारको कुनै कार्य नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ अनुसार विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

त्यतिबेला निवेदकको तर्फबाट अधिवक्ता तिलक पराजुली, मुकुन्दराज अर्याल तथा केशव प्रसाद पराजुलीले बहस गरेका थिए । रिट निवेदकहरुले दावीका कि.नं. का जग्गाहरुमा विपक्षी महानगरपालिकाबाट नक्सा पास गरी घर बसोबास भोगचलन गरी आएको भन्ने नक्सा पास तथा जग्गा धनिप्रमाण पुर्जाहरुबाट देखिएको समेत उल्लेख गरेका थिए । 

पोखरा महानगरपालिकाले कार्तिक १० गते सूचना जारी गर्दै पोखरा महानगरपालिका वडा नं. १८ को अधेरीकुना देखि वडा नं. २, ४, ५, ८, ७, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म फिर्के खोलाको खोलाभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु ३५ दिन भित्र पुर्ण रुपमा हटाउन सूचना जारी गरेको थियो । 

आदेशले महानगरपालिकाबाटै कानुनी रुपमा स्वीकृत पाएरै घर निर्माण भएको उल्लेख थियो । उच्च अदालत पोखराले यसअघि ०७६ असार १० गते मुआब्जा तथा क्षतिपूर्ति दिनुभनि परमादेश जारी गरेको थियो ।

३२ दिन लगाएर भएको थियो सर्वेक्षण

२०८० सालमा पोखरा महानगरपालिकाले बासुदेव पौडेल नेतृत्वमा ३२ दिन लगाएर फिर्केखोलाको सर्वेक्षण गरेको थियो । सर्वेक्षण टोलीले ०८० साउन ३ गतेबाट फिर्केको मुहानदेखि अन्तिम बिन्दुसम्म खोलाको सर्वेक्षण गरेको थियो । 

सर्भेक्षणका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्चाएको प्रतिवेदन प्रस्तुत गरेको थियो । सर्वेक्षण पश्चात सार्वजनिक गरिएको प्रतिवेदनअनुसार खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी एक सय ६० वटा संरचना निर्माण गरिएको छ । तीमध्ये खोलाका दायाँबायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन् । व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सिमाङ्कन टोलीले भेट्टाएको छ । संस्थागत रुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन् ।

सिमाङ्कन टोलीले फिर्केखोला किनारमा तीन सय ८८ वटा कंक्रिटका पिल्लरहरु गाडेका छ । स्तम्भ गाड्न नसकिएको ठाउँमा चिन्हमात्रै लगाएर छोडिएको थियो । सर्भेक्षक, इन्जिनियर, प्राविधिक २१ जना र नगरप्रहरी ६ सहित २७ जनाको टोलीले फिर्केखोलाको सिमाङ्कन गर्दा सबैभन्दा बढी वडा नं. ४ र ५ को सीमानामा खोला अतिक्रमण भएको पाइएको हो । यही वडामा नै व्यक्तिदेखि संस्थाले मनमौजी रुपमा खोला अतिक्रमण गरेर संरचना खडा गरेका छन् ।

अधिकतम ४० मिटरसम्म फैलिएको फिर्केखोला तीन मिटर ३० सेन्टिमिटरमा खुम्चिँदा यही क्षेत्रमा मात्रै स्थायी ६ वटा संरचना बनेका छन् । खोला मिच्ने ती ६ वटै संरचना आरसिसी भवनहरु हुन । व्यक्तिले खोला मिचेर घर बनाउँदा यो क्षेत्रमा फिर्के सबैभन्दा बढी खुम्चिएको छ । समितिले प्रतिवेदनमा शतप्रतिशत नै खोला घर (खोला हिँड्ने ठाउँ) मिचेर ३५ वटा स्थायी संरचना बनेको खुलाएको थियो ।

‘फिर्केखोलाको खोला घर नाप जाँच गर्ने क्रममा खोला घर नै मिचेर ३५ वटा स्थायी संरचनाहरु निर्माण भएको पाइएको छ । कतिपय संरचनाहरु शतप्रतिशत खोला घरमा बनेको पाइपका छन् भने कतिपय संरचनाहरुको आंशिक भाग खोलाघरमा बनेको पाइएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

यी हुन फिर्के मिच्नेहरु

सशस्त्र प्रहरी बल (एपिएफ) ले पोखरा १७ गाईघाटमा बनाएको तालिम केन्द्र पनि खोलाघर भित्रै बनेको पाइएको छ । यसबाहेक पोखरा ८ बराल समाज घर देखि पुन मगर समाज घर, कुँवर समाज घर, सोपाल समाज घर र पोखरा ४ मा भयरथान महिला समूहको भवन पनि खोलाघर भित्रै बनेका संरचना हुन । पोखरा ५ राधाकृष्ण मार्गमा रहेको राधाकृष्ण मन्दिरको भवन र पोखरा १८ अँधेरीकुनामा रहेको सामुहिक भवन पनि खोलाघर भित्रै बनेको प्रतिवेदनमा उल्लेख छ ।यी १० वटा संघसंस्थाका अस्थायी भवन रहेतापनि १८ वटा स्थायी संरचना पनि खोलाघरभित्रै बनेका छन् ।

पोखरा ८ मा रहेको लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, मन्दिर, गिरी समाज घर, क्रियापुत्री भवन, पोखरा ४ मा रहेको पोखरा फोटोग्राफर एसोसियसनको भवन, पोखरा २ मा निर्मित अर्चलबोट किरियापुत्री भवन र पुन मगर समाज घर पनि फिर्केको खोलाघरभित्रै बनेका संरचना हुन ।

फिर्केखोलाको बायाँतर्फ पनि विभिन्न संघसंस्थाहरुले ७ वटा संरचना खोलाघरभित्रै बनाएका छन् । फिर्के मिचेर मिलनपार्क अगाडि रहेको क्रियापुत्री भवन, बराल कुलायन मन्दिर, शिव मन्दिर,पोखरा ५ मा राधाकृष्ण आश्रम, लायन्स क्लवको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन र फिर्के तमु समाजघर रहेका छन् । फिर्केको मुहानदेखि फेवातालसम्म खोलाघरभित्र ३५ जना व्यक्तिले घर बनाएका छन् । समितिको प्रतिवेदन अनुसार पोखरा ८ मा १२ जना व्यक्तिले खोला बेचेर घर बनाएको पाइएको हो । 

यस्तै, फिर्के सबैभन्दा अतिक्रमित पोखरा ४ मा  ६ वटा, पोखरा ७ मा व्यक्तिले नै खोला मिचेर १७ वटा स्थायी संरचना बनाएका छन् । पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ । त्यसपछि एक किलोमिटरको दूरीमा यो फेवातालमा मिसिन्छ ।फिर्के बहने यति दूरीमा मात्र हो । तर, फिर्केमाथि सयौँ संरचना ठडिएका छन् ।