धादिङ
विद्यार्थी संख्या न्यून हुँदै गएपछि धादिङको गल्छी गाउँपालिकाले गाउँभित्रका विभिन्न विद्यालय तथा बालविकास केन्द्र समायोजन गर्ने निर्णय गरेको छ । गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै ९ वटा विद्यालय तथा बालविकास केन्द्रलाई अन्य विद्यालयमा गाभ्ने निर्णय गरेको हो ।
गाउँपालिकाले “सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७” अनुसार विद्यार्थी संख्या, शैक्षिक अवस्था र व्यवस्थापनको अवस्थालाई आधार बनाएर समायोजन प्रक्रिया अघि बढाइएको जनाएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर तथा स्रोत साधनको प्रभावकारी उपयोगमा समस्या देखिन थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
शिक्षा अधिकृत धिरज बस्नेतका अनुसार समायोजनबाट विद्यालय सञ्चालन खर्च घट्नुका साथै उपलब्ध स्रोत र जनशक्तिको उचित व्यवस्थापन हुने अपेक्षा गरिएको छ । उहाँले विद्यार्थी कम भएका विद्यालयलाई नजिकका विद्यालयसँग गाभेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्य रहेको जानकारी दिनुभयो।
समायोजन गरिएका विद्यालयहरूमा कालिदेवी आधारभूत विद्यालय, सुन्टार आधारभूत विद्यालय, रिपछाप बालविकास केन्द्र, शिवालय आधारभूत विद्यालय, धादिङ आधारभूत विद्यालय, भैरवी आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, असारे आधारभूत विद्यालय र ठाँटीचौर आधारभूत विद्यालय रहेका छन् । त्यस्तै अन्लेटार आधारभूत विद्यालयमा अब बालविकास कक्षा मात्रै सञ्चालन हुने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले समायोजित विद्यालयका विद्यार्थीहरूको IEMIS विवरण सम्बन्धित विद्यालयमा स्थानान्तरण गरिने जनाएको छ । साथै विद्यालयका चलअचल सम्पत्तिको व्यवस्थापनका लागि सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिने सूचनामा उल्लेख छ ।
त्यसैगरी समायोजनमा परेका विद्यालयका शिक्षक तथा कर्मचारीलाई शिक्षा, युवा तथा खेलकुद शाखामा उपस्थित भई तोकिएअनुसार विद्यालय छनोट गर्न आग्रह गरिएको छ । विद्यालय समायोजनको निर्णयले ग्रामीण क्षेत्रमा घट्दो विद्यार्थी संख्या र सामुदायिक विद्यालयको चुनौतीलाई फेरि एकपटक सतहमा ल्याएको स्थानीयवासी बताउँछन् ।













प्रतिक्रिया