लमजुङ।
लमजुङको बेसीशहर नगरपालिकामा महिला सशक्तीकरण तथा लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित ७ दिने मादल बजाउने तालिम सुरु भएको छ । वडास्तरीय महिला सञ्जालद्वारा आयोजित तालिम बेसीशहर नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा सञ्चालन भएकोे हो ।
तालिम उद्घाटन बेसीशहर ८ महिला संजालका अध्यक्ष शान्त पौडेलको अध्यक्षता तथा बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले महिलालाई कला, संस्कार र सीपसँग जोड्दै आत्मनिर्भर तथा आत्मविश्वासी बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले नेपाली मौलिक लोकसंस्कृति पछिल्लो समय आधुनिकताको प्रभावका कारण हराउँदै गएको उल्लेख गर्दै त्यसको संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो । “मादल नेपाली लोकसंस्कृतिको महत्वपूर्ण बाजा हो, यसको संरक्षणसँगै महिलालाई सीपयुक्त बनाउने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको हो,” उहाँले भन्नुभयो ।
नगर प्रमुख अर्यालले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि नगरपालिकाले विभिन्न सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रम तथा आयआर्जनसँग सम्बन्धित गतिविधिहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले महिलालाई घरभित्र सीमित नभई समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका प्रमुख पदमा गुरुङले महिलाहरुको क्षमता अभिवृद्धि तथा आत्मविश्वास बढाउन नगरपालिकाले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले महिलालाई सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा अझ सक्रिय र सक्षम बनाउन यस्ता तालिम उपयोगी हुने धारणा राख्नुभयो । “सीपले महिलालाई आत्मनिर्भर बनाउँछ, साथै सांस्कृतिक पहिचान जोगाउन पनि यस्ता गतिविधिले महत्वपूर्ण योगदान पु¥याउँछन्,” उहाँले बताउनुभयो ।
वडा नं. ८ का वडा अध्यक्ष पवित्र थापा रानाले स्थानीय महिलाको प्रतिभा उजागर गर्न तथा परम्परागत संस्कृतिलाई संरक्षण गर्न तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय युवा पुस्तामा मौलिक बाजा तथा सांस्कृतिक अभ्यासप्रति आकर्षण घट्दै गएकाले महिलामार्फत त्यसको संरक्षण गर्ने प्रयास गरिएको हो ।
कार्यक्रममा बेसीशहर नगर महिला संजालकी अध्यक्ष मिना रावलले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाहरुले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्दै सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।
सात दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक रञ्जित गुरुङले सहभागी महिलाहरुलाई मादल बजाउने व्यावहारिक प्रशिक्षण प्रदान गर्नुहुने आयोजकले जनाएको छ । तालिममा सहभागी महिलाहरुलाई मादलको आधारभूत ज्ञान, ताल मिलाउने तरिका, सांस्कृतिक कार्यक्रममा प्रयोग हुने विभिन्न लय तथा प्रस्तुति सम्बन्धी अभ्यास गराइने प्रशिक्षक गुरुङको भनाई छ ।
आयोजकका अनुसार तालिमले महिलामा आत्मविश्वास वृद्धि गर्नुका साथै सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता बढाउने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा महिलालाई संगठित गर्दै कला र संस्कृतिसँग जोड्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।











प्रतिक्रिया