लन्डन, (एजेन्सी) ।
सीमा पारी गएर एसियन महिला च्याम्पियन्स लिग फाइनल खेलेको उत्तर कोरियाको टोलीले उपाधि जितेको छ । उत्तर कोरियाको नेइगोह्यांगले जापानको टोक्यो भर्डी बेलेजालाई १–० ले हराएर उपाधि जितेको हो । दक्षिण कोरियाको सुवोन शहरमा भएको फाइनल खेलमा कप्तान किम कियोंग योंगले गरेको गोल नै निर्णायक बनेको थियो ।
यो उपाधि जितेपछि नेइगोह्यांगले अर्को वर्ष हुने फिफा महिला च्याम्पियन्स कपमा खेल्ने पनि पक्का गरेको छ । जसमा ६ महादेशका प्रत्यके विजेताले यस प्रतियोगितामा सहभागिता जनाउनेछ ।
उत्तर र दक्षिण कोरिया बीचको यात्रा प्रतिबन्धका कारण यस फाइनल खेलमा आधिकारिक रूपमा उत्तर कोरियाका समर्थकहरू थिएनन् । यद्यपि, सियोलको एकीकरण मन्त्रालयद्वारा समर्थित नागरिक समूहका लगभग करिब १ हजार सदस्यहरू फाइनलमा उपस्थित थिए ।
खेल समाप्त भएपछि दक्षिण कोरियाली रिपोर्टरले कोच र गोल गर्ने खेलाडीलाई “उत्तरी पक्ष“ भनेर उल्लेख गरेर प्रश्न सोधेपछि उनीहरू दुबै जना पत्रकार सम्मेलनबाट बाहिरिएका थिए ।
१९५३ मा कोरियाली युद्ध समाप्त हुँदा शान्ति सन्धिमा हस्ताक्षर गर्न असफल भएपछि दुई कोरियाबिचको सम्बन्ध प्राविधिक रूपमा अझै पनि राम्रो बनेको छैन ।
हालका वर्षहरूमा दुई देशहरू बीचको सम्बन्ध बिग्रिएको छ, उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो “सबैभन्दा शत्रुतापूर्ण राज्य“ भनेर लेबल लगाएको छ र अब पुनर्मिलन खोज्ने छैन भनिरहेको छ । तथापि, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले सम्बन्ध सुधार गर्न खोजिरहेका छन् ।











प्रतिक्रिया