जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो


काठमाडौं ।

काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा घरेलु टोली नेपालले पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा भने सुरुदेखि नै पकड बलियो बनाएको थियो ।

किर्गिस्तानविरुद्ध आक्रामक र उत्कृष्ट प्रदर्शन गरेको नेपालले २५–१८, २५–२० र २५–१३ को सहज अन्तरले सेटहरू आफ्नो पक्षमा पार्दै घरेलु समर्थकलाई उत्साहित तुल्याएको थियो ।

यता, प्रतियोगिताको आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सुखद सुरुवात गरेको किर्गिस्तानका लागि भने नेपालविरुद्धको यो नतिजा स्तब्धकारी बन्न पुग्यो ।

नेपाली टोलीको बलियो डिफेन्स र सटिक स्पाइकका अगाडि निरिह बनेको किर्गिस्तानले प्रतियोगितामा यो पहिलो हार ब्यहोरेको हो । यो एकपक्षीय जितसँगै नेपालले च्याम्पियनसिपमा महत्वपूर्ण अंक जोड्दै उपाधि होडको सम्भावनालाई बलियो बनाएको छ ।

यसअघिको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । यो जितसँगैं ५ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । कीर्गिस्तान ३ अंकसहित तेस्रो र अंकविहिन माल्दिभ्स समूहको पुछारमा छ ।