पूर्व–पश्चिम राजमार्ग यात्रुका लागि असुरक्षित बन्दै

0
Shares

रौतहट ।

पूर्व–पश्चिम राजमार्ग यात्रुहरूको लागि दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । सामान्य हावाहुरी चल्दा पनि राजमार्गका दुवै किनारमा रहेका रुख ढल्ने क्रम बढेपछि यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गएराति आएको सामान्य हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने पौराई सडक खण्डमा रुख ढलेपछि केही समय यातायात प्रभावित बनेको थियो । स्थानीयका अनुसार यस्तो घटना पहिलो पटक होइन। सामान्य हावाहुरीमै राजमार्ग छेउका पुराना तथा कमजोर रुखहरू ढल्ने गरेका छन् । यसले यातायात अवरुद्ध हुनुका साथै सवारी साधनमा क्षति पुग्ने जोखिमसमेत बढाएको छ ।

विशेषगरी वर्षायाम सुरु भएसँगै वन क्षेत्रका जीर्ण रुखहरू थप जोखिमपूर्ण बन्ने गरेका छन ्। अचानक सडकमा रुख ढल्दा दुईपांग्रे सवारी चालकहरू बढी प्रभावित हुने गरेका छन । सम्बन्धित निकायले समयमै ध्यान नदिँदा पटक–पटक दुर्घटनाको जोखिम बढिरहेको स्थानीयवासी गोपाल घिमिरे बताउँछन् । हरेक वर्ष राजमार्गमा रुख ढलेर सडक अवरुद्ध भएको समाचार सार्वजनिक भइरहे पनि जोखिमयुक्त रुख हटाउने तथा सडकलाई सुरक्षित बनाउनेतर्फ सम्बन्धित निकायको प्रभावकारी पहल नदेखिएको यात्रुहरूको गुनासो छ ।

वन क्षेत्रभित्र पर्ने यस सडक खण्डबाट दैनिक सयौं सवारी साधन आवतजावत गर्ने भए पनि सम्भावित जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना नबनाइँदा यात्रुहरू त्रासपूर्ण यात्रा गर्न बाध्य भएका छन् । स्थानीयवासी तथा यात्रुहरूले सडक छेउका जोखिमयुक्त रुख पहिचान गरी समयमै व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले हावाहरुले रुख ढलेको जानकारी हुनासाथ पन्छ्याएर राजमार्ग सुचारु गरिएको बताउनुभयो