काठमाडौं ।
फागुन २१ को निर्वाचनपछि लगातार कमजोर बन्दै गएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) अहिले गम्भीर आन्तरिक शक्ति संघर्षको भुमरीमा फसेको संकेत देखिन थालेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, निर्णय प्रक्रिया र कार्यविभाजनप्रति असन्तुष्टि चुलिँदै जाँदा सचिवालय बैठकमै नेतृत्वविरुद्ध खुलेआम प्रश्न उठ्न थालेका छन् ।
भक्तपुरको गुण्डुस्थित ओली निवासमा जारी सचिवालय बैठकले एमालेभित्र सतहमा नदेखिएको असन्तुष्टि अब खुला बहसमा रूपान्तरित भएको संकेत दिएको छ । शनिवार बसेको बैठकमा महासचिवसहित ९ जना पदाधिकारीले आफ्नो धारणा राख्दा अधिकांश नेताहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
विशेषगरी पार्टीभित्र ‘आफ्नालाई काखा र विरोधीलाई पाखा’ गर्ने प्रवृत्ति बढेको भन्दै नेताहरूले अध्यक्ष ओलीको शैलीमाथि प्रश्न उठाएका छन् । लामो समयदेखि पार्टीभित्र एकल निर्णय प्रणाली हावी भएको र फरक मतलाई निषेध गर्ने संस्कृति बढेको आरोप नेताहरूले बैठकमै उठाएको एमाले स्रोत बताउँछ ।
पार्टीभित्र पछिल्लो समय अध्यक्ष ओलीको निर्णय शैलीप्रति असन्तुष्टि राख्ने नेताहरूको दायरा फराकिलो बन्दै गएको देखिएको छ । उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तलगायत नेताहरूले पार्टीको वर्तमान दिशा र नेतृत्व शैलीबारे तीव्र असन्तुष्टि राख्नुभएको थियो । पार्टी उपाध्यक्ष पौडेलले आफूले पार्टीलाई एक ढिक्का बनाएर लैजान पार्टी अध्यक्षलाई भनेको र त्यसो हुन नसके बाटो खुल्ला गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
यद्यपि, बैठकमा कसले कति कडा रूपमा धारणा राख्यो भन्ने विषयमा नेताहरू सार्वजनिक रूपमा बोल्न तयार छैनन् । तर, सचिवालय बैठकको माहोल सामान्य औपचारिकताभन्दा निकै फरक र तनाबपूर्ण बनेको सहभागी नेताहरूले बताएका छन् । एमाले उपमहासचिव लेखराज भट्टले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव, तीन उपमहासचिव र पाँच सचिवले समसामयिक राजनीति, पार्टीको कार्यदिशा र आफ्नो जिम्मेवारी क्षेत्रका विषयमा धारणा राखेको जानकारी दिनुभयो । उहाँले बैठक नियमित प्रक्रिया भएको दाबी गरे पनि एमालेभित्र बढ्दो असन्तुष्टि भने लुक्न सकेको छैन ।
राजनीतिक वृत्तमा अहिले सबैभन्दा बढी चर्चा भइरहेको विषय अध्यक्ष ओली सचिवालयमै अल्पमतमा पर्नुभएको छ ।
एमालेभित्रै केही नेताहरूले पार्टीलाई ‘नयाँ शिराबाट पुनर्गठन’ गर्नुपर्ने बहस उठाइरहेका छन् । महासचिव शंकर पोखरेलसमेत पार्टी पुनर्गठन र नयाँ ढंगले अघि बढ्नुपर्ने पक्षमा देखिएको चर्चा एमालेभित्र व्यापक रूपमा भइरहेको छ । यद्यपि, संस्थापन पक्षले भने यस्ता दाबीलाई अतिरञ्जित प्रचारको संज्ञा दिएको छ ।
स्रोतहरूका अनुसार सरकारको कार्यशैली, सुशासनको कमजोर अवस्था, पार्टीभित्र अवसर वितरणको असन्तुलन र आगामी राजनीतिक रणनीतिलाई लिएर संस्थापन पक्ष र असन्तुष्ट समूहबीच दूरी बढ्दै गएको छ ।
एमालेभित्र अहिले देखिएको असन्तुष्टिको अर्को कारण पछिल्लो कार्यविभाजनलाई पनि मानिएको छ । ओलीनिकट नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिइएको तर आलोचनात्मक धार राख्ने नेताहरूलाई पाखा लगाइएको गुनासो बढ्दै गइरहेको छ ।
पार्टीका एक नेताका अनुसार, ‘एमालेभित्र अहिले फरक मत राख्न सक्ने वातावरण कमजोर हुँदै गएको छ । आलोचना गर्नेहरूलाई जिम्मेवारीबाट टाढा राख्ने र निकट समूहलाई मात्र अवसर दिने प्रवृत्तिले समस्या गहिरिएको हो ।’
राजनीतिक विश्लेषकहरू एमालेभित्रको यो अवस्था केवल सामान्य आन्तरिक विवाद नभई नेतृत्व हस्तान्तरण र शक्ति सन्तुलनसँग जोडिएको गम्भीर संकेत भएको बताउँछन् ।
पछिल्लो निर्वाचनपछि एमालेले अपेक्षाअनुसार राजनीतिक लाभ लिन नसकेको, सरकार सञ्चालनमा आलोचना बढेको र जनमत क्रमशः कमजोर बन्दै गएको अवस्थामा पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको देखिन्छ ।
अर्कोतर्फ अध्यक्ष ओली भने अझै पनि पार्टीमा आफ्नो नियन्त्रण कायम राख्ने रणनीतिमा रहेको स्रोतहरू बताउँछन् । पार्टीभित्र समर्थन क्रमशः खुम्चिँदै गएको विश्लेषण भइरहेका बेला ओलीले नयाँ समीकरण निर्माण, असन्तुष्ट नेताहरूलाई व्यवस्थापन तथा संगठन पुनः कस्ने प्रयास गरिरहेको चर्चा छ ।
उपमहासचिव भट्टले भने बैठकबारे बाहिर भइरहेका चर्चाप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले बैठकका सामान्य छलफललाई अतिरञ्जित, तोडमोड र भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएको आरोप लगाउनुभयो ।
‘बैठकमा अनुभव आदानप्रदान र राजनीतिक परिस्थितिबारे सामान्य छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो–‘बाहिर प्रचार गरिएजस्तो असामान्य अवस्था छैन ।’
तर, सचिवालय बैठकको माहोल, नेताहरूको असन्तुष्टि र पार्टीभित्र चुलिँदो ध्रुवीकरणले एमाले अब गम्भीर मोडमा पुगेको संकेत भने स्पष्ट देखिन थालेको छ ।
सचिवालयका अझै चार जना सचिवले धारणा राख्न बाँकी रहेकाले आज आइतबार बस्ने बैठकलाई अझ बढी चासोका साथ हेरिएको छ । आज बिहान पुनः गुण्डुस्थित ओली निवासमै बस्ने बैठकपछि मात्रै एमालेभित्रको वास्तविक शक्ति सन्तुलन, नेतृत्वमाथिको दबाब र पार्टीको आगामी रणनीतिबारे थप स्पष्ट तस्वीर बाहिर आउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया