सञ्चारमाध्यम प्रविधिमैत्री र जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने : सञ्चारमन्त्री तिमल्सिना


काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको युगमा पनि सामुदायिक रेडियोको महत्त्व कायम रहेकाले यस्ता सञ्चारमाध्यम प्रविधिमैत्री र जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने बताएका छन्।

दक्षिण एसियाकै पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको ३०औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री तिमल्सिनाले मर्यादित, निष्पक्ष र उत्तरदायी पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गरे।

उनले रेडियो सगरमाथाले तीन दशकदेखि निष्पक्ष पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै आएको भन्दै सञ्चारमाध्यमको दिगोपनाका लागि सरकार सकारात्मक भूमिका खेल्ने बताए। साथै लोककल्याणकारी विज्ञापनको दुरुपयोग रोक्न र सञ्चारमाध्यमलाई न्यायोचित रूपमा विज्ञापन उपलब्ध गराउन पहल गरिने जानकारी दिए।

कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तेइले सामुदायिक रेडियोले नागरिकको आवाज बुलन्द बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए। रेडियो सगरमाथाका अध्यक्ष डा. घमराज लुइँटेलले स्वतन्त्र सञ्चारमाध्यमलाई सरकारले अनुदानमार्फत सहयोग गर्नुपर्नेमा जोड दिए।

वि.सं. २०५४ जेठ ९ गते स्थापना भएको रेडियो सगरमाथा दक्षिण एसियाको पहिलो स्वतन्त्र सामुदायिक रेडियो हो।