लामो दूरीका बसमा लगेज ट्याग अनिवार्य


काठमाडौँ ।

काठमाडौँ उपत्यकाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक बसमा अब यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच भएको सम्झौताअनुसार जेठ १५ गतेदेखि यो व्यवस्था लागू हुनेछ ।

प्रणालीअन्तर्गत यात्रुको सामानमा नम्बर वा कोडसहितको ट्याग लगाइनेछ र सोही नम्बर यात्रुलाई पनि दिइनेछ । गन्तव्यमा ट्याग मिलाएर मात्रै सामान बुझाइने व्यवस्था गरिनेछ ।

ट्राफिक प्रहरीले यसबाट लगेज हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण हुने जनाएको छ । साथै सार्वजनिक यातायातलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।