७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ


काठमाडौं ।

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । सडक ढलान योजनाको भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार यादवबाट स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ, एक थान ल्यापटप, दुई थान मोबाइल र केही सरकारी कागजातसमेत बरामद गरिएको छ । उनी सवार सरकारी गाडीलाई महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडक खण्डबाट नियन्त्रणमा लिइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।