काठमाडौं ।
देशभरका सयौं बाल प्रतिभाहरूको अद्भुत मानसिक क्षमता, तीव्र गणना कौशल र आत्मविश्वासको प्रदर्शन हुने प्रतिष्ठित ‘UCMAS नेपाल राष्ट्रिय प्रतियोगिता २०२६’अहिले काठमाडौंमा सुरू भएको छ ।
उक्त प्रतियोगितामा देशभरका ६ सयभन्दा बढी बाल प्रतिभाहरूले आफ्नो प्रतिभा एवं क्षमता प्रदर्शन गर्दैछन् । प्र बाल प्रतिभाहरूले अबाकस तथा मानसिक गणनामा विशेष प्रशिक्षण प्राप्त बालबालिकाहरूले आफ्नो असाधारण गति, शुद्धता र एकाग्रता प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।

UCMAS नेपालद्वारा सन् २००३ देखि निरन्तर सञ्चालन हुँदै आएको यो प्रतियोगिता नेपालकै सबैभन्दा प्रतिष्ठित तथा बहुप्रतिक्षित शैक्षिक कार्यक्रममध्ये एकका रूपमा परिचित छ। प्रतियोगिता UCMAS नेपाल तथा भारतका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा. स्नेहल करियाको नेतृत्वमा आयोजना हुन लागेको हो ।
कार्यक्रममा UCMAS अन्तर्राष्ट्रिय मुख्यालयका कार्यकारी निर्देशक डा. क्रिस च्यु विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्छ । UCMAS (युनिभर्सल कन्सेप्ट अफ मेन्टल अर्थमेटिक्स सिस्टम) ४ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि तयार गरिएको अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त बाल विकास कार्यक्रम हो ।
अबाकसलाई सिकाइ उपकरणका रूपमा प्रयोग गर्दै यस कार्यक्रमले बालबालिकाको एकाग्रता, स्मरण शक्ति, सिर्जनशीलता, कल्पनाशक्ति, श्रवण क्षमता, विश्लेषणात्मक सोच, गति तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले बालबालिकामा नेतृत्व क्षमता, अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न विशेष योगदान पुर्याउने विश्वास गरिएको छ।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली विद्यार्थीहरूले श्रीलंकामा आगामी १२ र १३ डिसेम्बर २०२६ मा आयोजना हुने UCMAS अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विश्वका दर्जनौं देशबाट हजारौं विद्यार्थी सहभागी हुने उक्त प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो मानसिक गणना प्रतियोगितामध्ये एक मानिन्छ।
विगत दुई दशकदेखि UCMAS नेपालले बालबालिकाको प्रतिभा पहिचान, मस्तिष्क विकास तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । ‘UCMAS नेपाल राष्ट्रिय प्रतियोगिता २०२६’ ले अन्तर्राष्ट्रिय UCMAS समुदायमा नेपालको सशक्त उपस्थिति तथा बढ्दो पहिचानलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।











प्रतिक्रिया