काठमाडौं ।
करेन्ट तथा लाली ब्रान्डका चाउचाउ जनस्वास्थ्य हिसाबले जोखिमयुक्त ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख ३१ गते उक्त चाउचाउ बजारबाट फिर्ता गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता बालकुमारी शर्माले विभागको आदेशअनुरूप बजारबाट चाउचाउ उठाएको प्रमाणसहित विवरण पेस गर्न प्रालीलाई पत्राचार गरिसकेको जानकारी दिँदै भन्नुभयो– ‘त्यसको पालना भएको छ कि छैन हामी बुभ्mदैछौं । गुणस्तरहीन चाउचाउ उत्पादन गरेको अभियोगमा कम्पनीविरुद्ध मुद्दा हाल्ने तयारी पनि गरिरहेका छौं । कम्पनीले आदेश अवज्ञा गरेमा त्यसविरुद्ध पनि अर्को मुद्दा दायर गर्ने छौं ।’
विभागले फिर्ताको आदेश दिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सो आदेशको पूर्ण रूपमा कार्यान्वयन नभएको जिकिर गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भन्नुभयो– ‘स्वास्थ्यका हिसाबले हानिकारक र गुणस्तरहीन चाउचाउ अहिले पनि बजारमा छयाप्छयाप्ती रहेको पाइएको छ ।’ रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ स्थित यशोदा फुड्स प्रालिले ती चाउचाउ उत्पादन गर्दै आएको छ ।
बजारबाट फिर्ता गर्न आदेश दिएर मात्र विभागको दायित्व पूरा नहुने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘चाउचाउ बिक्री वितरण नगर्न र बिक्री वितरण गरिए जफत गर्न विभागको पूरा संयन्त्र परिचालन गर्नुपर्दछ । अनिमात्र जनस्वास्थ्यप्रति सरकारी प्रतिबद्धता पूरा हुनेछ ।’
विभागले बजार अनुगमन गर्दा केही चाउचाउ संकलन गरी नमूना परीक्षण गरेको थियो । ५० ग्रामको लाली ब्रान्डको चाउचाउ र १ सय ग्राम करेन्ट चाउचाउको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुसारको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ । त्यसपछि लाली ब्रान्डका ब्याच नं ०२ ऐ र सय ग्रामको ब्याच नं ०४ ऐ को चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगराउन गत वैशाख ३१ गते आदेश जारी गरेको थियो । विभागले खाद्य तथा गुणस्तर ऐन २०८१ दफा ३८(२) प्रावधानमा टेकेर सो आदेश दिएको थियो ।
करेन्ट र लाली ब्रान्डका चाउचाउ गुणस्तरीयहीन भएको दाबी गर्दै मञ्चले दुई वर्षअघि नै सरकारको ध्यानाकर्षण गराएको दाबी गर्दै अध्यक्ष महर्जनले भन्नुभयो – ‘त्यतिबेला सरकारले हाम्रो ध्यानाकर्षणलाई बेवास्ता ग¥यो । निकै ढिलाइ गर्दै अहिले बल्ल सरकारले त्यसको गुणस्तर परीक्षण गरेको हो । यो चाउचाउमा अजिनोमोटोको मात्रा निकै बढी रहेकोले जनस्वास्थ्यका लागि हानिकारक र त्यसमाथि बालबालिकाको स्वास्थ्यमा गम्भीर क्षति पु¥याउन सक्ने खबरदारी पनि गरेको थियो ।’
हुन त सो कम्पनी दर्ता प्रक्रिया र सरकारले अनुमति प्रदान गर्दादेखि कानुन मिचेको पनि उपभोक्ता अधिकारकर्मी महर्जनको दाबी रहेको छ । कम्पनीले चाउचाउमा अखाद्य वस्तुको मिश्रण रहेको भनेर अझै पनि स्वीकार नगरी अनेक तर्क तेस्र्याइरहेकोले पनि जनस्वास्थ्यप्रति जिम्मेवारहीन रहेको पुष्टि गरेको उहाँको भनाइ थियो । सो कम्पनीले एक विज्ञप्ति प्रकाशित गरी गर्मी भण्डारण र पसलमा घाम लाग्नेजस्ता कारण त्यस्तो भएको हुनसक्ने जनाएको छ ।
विज्ञप्तिमा सो कम्पनीले आफूले रोजगारी सिर्जना गरेको, नेपालबाट विदेशसम्म निर्यात गरिरहेको र गर्मीयाममा पसल तथा गोदाममा चर्को घाम लाग्दा गुणस्तरमा असर पर्न सक्ने दाबी गरेको छ । कम्पनीले घाम नपर्ने ठाउँमा राख्न सुझाव दिँदै उपभोक्तालाई उत्पादन मिति र म्याद हेरेरमात्र प्रयोग गर्न आग्रहसमेत गरेको छ । तर, खाद्य गुणस्तरसम्बन्धी जानकारहरूका अनुसार यस्तो तर्कले कम्पनीको गैर जिम्मेवारीपन देखाएको टिप्पणी गरेका छन् । गुणस्तर विभागका एक अधिकारीले भने –‘यदि उत्पादन सामान्य तापक्रममै गुणस्तर जोगाउन नसक्ने हो भने त्यो उत्पादनको प्याकेजिङ, प्रशोधन वा कच्चा पदार्थमै समस्या छ भन्ने देखिन्छ ।’
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार यस्ता उत्पादन बालबालिका र युवापुस्ताले अत्यधिक खाने भएकाले यसको असर अझ गम्भीर हुन सक्छ । सस्तो, मसलेदार र आकर्षक प्याकेटिङ भएका चाउचाउहरू दैनिक उपभोगमा छन् । त्यही उत्पादन गुणस्तरहीन भेटिनु सामान्य विषय नभएको उपभोक्ता अधिकारीकर्मीहरू बताउँछन् ।











प्रतिक्रिया