काठमाडौँ।
नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेललाई नियुक्त गरेको छ ।
तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने १७ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
खरेललाई जेठ १५ गतेभित्र पार्टी सभापतिसँगको परामर्शमा सबै क्षेत्र, वर्ग, उमेर समूह, समुदाय र भूगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्न भनिएको छ ।
रिक्त रहेका वा पुनर्गठन आवश्यक रहेका तल्लो तहका सबै समितिहरूमा २०८३ श्रावण मसान्तभित्र पूर्णता दिँदै अधिवेशन आयोजक समिति बनाउन खरेललाई भनिएको छ ।
आगामी फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिसँग खरेलले समन्वय गर्नुपर्नेछ । खरेलले साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेस गर्नुपर्ने छ ।
पार्टीभित्रको आन्तरिक विवादका कारण २०७३ सालदेखि महिला संघको निर्वाचन प्रभावित बन्दै आएको छ । निवर्तमान अध्यक्ष उषाकुमारी मिश्र नेतृत्वको समितिले पनि महिला संघको महाधिवेशन गर्न असमर्थ भएको थियो ।
१३ वटा भातृ संस्थामध्ये महिला संघसहित पाँच वटाले समयमै महाधिवेशन गर्न नसकेपछि विघटनमा परेका थिए ।











प्रतिक्रिया