अभ्यास ‘हातेमालो–८’ सम्पन्न


काठमाडौँ।

विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क अभिवृद्धि गर्दै प्रतिकार्य क्षमतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको ‘हातेमालो–८’ अभ्यास सम्पन्न भएको छ।

यही वैशाख २१ गतेदेखि जङ्गी अड्डामा सुरु भएको उक्त तीनदिने अभ्यास बुधबार सम्पन्न भएको हो। अभ्यासको समापन बलाधिकृत रथी प्रदीप जङ्ग के.सी.ले गर्नुभयो।

समापन कार्यक्रममा बलाधिकृत रथी के.सी.ले अभ्यासका क्रममा विषयविज्ञ तथा सरोकारवालाहरूबाट भएका प्रस्तुतीकरण र सक्रिय सहभागिताले लक्षित उद्देश्य हासिल भएको विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य र समन्वयको संस्कृति विकास गर्न थप मद्दत पुग्ने बताउनुभयो।

वर्षायाममा हुन सक्ने विपद्का परिदृश्यलाई आधार मानेर सञ्चालन गरिएको अभ्यासको आठौँ संस्करणमा रक्षा मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारी, नेपाली सेनाका रथीवृन्द, विभिन्न मन्त्रालय तथा सरकारी निकाय, स्थानीय तह, साथै राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।