काठमाडौं ।
रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले भानुआतुलाई ८३ रनले हराएको छ । बिहीबार भएको खेलमा नेपालले १ सय ३३ रनको लक्ष्य दिँदा भानुआतुले १६.४ ओभरमा मात्र ४९ रन जोड्न सक्यो । योसँगैं नेपालले भानुआतुसँग यसै प्रतियोगितामा बेहोरेको हारको बदलासमेत लियो । नेपाल उक्त खेलमा २२ रनले हारेको थियो ।
नेपाली बलरमा कविता कुँवर सबैभन्दा सफल भइन् । उनले ६ विकेट लिँदैं भानुआतुको ब्याटिङ ध्वस्त बनाएकी थिइन् । उनले खेलमा ह्याट्रिकसमेत गरेकी थिइन् । यस्तै, पूजा महतो र रचना चौधरीले २–२ विकेट लिएका थिए ।
भानुआतुका लागि भलेन्ता लानगिअटुले १४ र नासिमना नभाइकाले ११ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ४१ रनमा ३ विकेट गुमाएको टोलीले ८ रन जोड्दा बाँकी सातै विकेट गुमाएको थियो ।
इन्दुको पहिलोपटक राम्रो ब्याटिङ
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १ सय ३२ रन जोडेको थियो । टोलीका लागि सम्झना खड्काले सर्वाधिक ५२ रन जोड्नि । उनले ९ चौका प्रहार गरेकी थिइन् । यस्तै, कप्तान इन्दु वर्माले ४३ र उपकप्तान पूजा महतोले १९ रन बनाए ।
इन्दुले प्रतियोगितामा पहिलोपटक राम्रो ब्याटिङ प्रदर्शन गरिन् । उनले मात्र १८ बलको सामना गर्दै ७ चौका प्रहार गरेकी थिइन् । भानुआतुका लागि कप्तान रचेल आन्द्रिउ, नथाइल काकोर र नासिमना नभाइकाले समान एक विकेट लिए ।
अमेरिका शीर्षमा
पाँच टिम सहभागि यस प्रतियोगितामा अमेरिकाले ७ खेलमा १२ अंक जोडेर शीर्ष स्थान बलियो बनाएको छ । अन्य टिमहरूमा ७ खेलबाटै नेपाल र रुवान्डाले समान ८–८ अंक जोडेका छन् । इटालीले त्यति नै खेल खेल्दा ६ अंक जोडेको छ ।
सबै खेल खेलेको भानुआतु २ अंकसहित पुछारमा रहेको छ । अब, नेपालले प्रतियोगितामा अन्तिम खेल आज इटालीसँग खेल्नेछ भने अमेरिकाले रुवान्डासँग खेल्नेछ ।











प्रतिक्रिया