कान्स फिल्म फेस्टिभलको ७९औं संस्करणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ।
कान्सको अन सर्टेन रिगार्ड विधाअन्तर्गत अविनाश विक्रम शाहद्वारा निर्देशित फिल्म एलिफेन्ट्स इन द फग (तिनीहरू) ले जुरी अवार्ड जितेको हो। योससंगै एलिफेन्ट्स इन द फग कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्ने पहिलो नेपाली फिल्म पनि बनेको छ। नपाली समयअनुसार बुधवार प्रिमियर भएको फिल्मले ८ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गर्दै अन्तर्राष्ट्रिय ध्यान तानेको थियो। प्रिमियरमा फिल्मका निर्देशक, कलाकार तथा निर्माण टोली सहभागी थिए काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसहितका अतिथिले पनि फिल्म हेरेका थिए।
नेपालका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत फिल्म टिमलाई बधाई दिंदै यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने बताएका छन्।
किन्नर समुदायको संघर्ष र जीवनकथामा आधारित यो फिल्मको रेड कार्पेट समारोह भने बिहीबार राति आयोजना गरिएको थियो। अवार्ड जितेर आज सोमबार बिहानै स्वदेश फर्कर्दै गरेको फिल्मको टिमलाई सरकारले स्वागत गर्ने जनाएको छ। ‘यो केवल एउटा अवार्ड जितेको क्षण होइन, नेपाली फिल्म उद्योगको सम्मान, संघर्ष र सम्भावनाले विश्वबाट मान्यता पाएको क्षण हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएर फर्किने यो टोलीलाई सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले सम्मान गर्नेछ’ प्रधानमन्त्रीका सल्लाहकार तथा फिल्मकर्मी असिम शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
कान्सको अन्तिम दिन आयोजित समापन समारोहमा आधिकारिक अवार्ड घोषणा गरिएको थियो। समारोहमा यस वर्षको प्रतिष्ठित पाल्मे डीओर अवार्ड रोमानियाली निर्देशक क्रिस्टियन मुंगिउको फिल्म फ्योर्डलाई प्रदान गरिएको घोषणा थियो। मुंगिउले यसअघि सन् २००७ मा फोर मन्थ्स, थ्री विक्स एन्ड टु डेजका लागि पनि यही अवार्ड जितेका थिए। फ्योर्डमा सेबास्टियन स्टान र रेनाटे रेन्स्भेले रोमानियाली इभान्जेलिकल दम्पतीको भूमिका निर्वाह गरेका छन्, जो नर्वे बसाइ सरेपछि आफ्ना बच्चाहरूलाई कुटपिट गरेको आरोपमा बाल सेवा विभागले खोसेपछि संकटमा पर्छन्। यो अवार्डसंगै मुंगिउ दुईपटक पाल्मे डीओर जित्ने दशौं निर्देशक बनेका छन्। फिल्मले फ्रास्वा शाले अवार्ड, फिप्रेस्की अवार्ड र इक्युमेनिकल जुरी अवार्डसमेत जितेको छ।
आन्द्रेई ज्भियागिन्त्सेभद्वारा निर्देशित राजनीतिक थ्रिलर मिनोटौरले दोस्रो ठूलो अवार्ड ग्रान्ड प्रिक्स जित्यो। रुस–युक्रेन युद्धको पृष्ठभूमिमा आधारित यो फिल्म एक निर्दयी व्यवसायीको कथामा केन्द्रित छ। निर्देशक ज्भियागिन्त्सेभ कोभिड–१९ महामारीका बेला गम्भीर बिरामी परेका थिए र उपचारका क्रममा एक महिनाभन्दा बढी समय कोमामा बिताएका थिए। हाल फ्रान्समा निर्वासन जीवन बिताइरहेका उनले अवार्ड ग्रहण गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरेर भने, ‘यो नरसंहार अन्त्य गरियोस्, सम्पूर्ण विश्व त्यसको प्रतीक्षामा छ।’
उत्कृष्ट पहिलो फिल्मलाई प्रदान गरिने क्यामेरा डीओर अवार्ड रुवाण्डाकी निर्देशक मेरी क्लेमेन्टिन दुसाबेजाम्बोको पोस्ट–जेनोसाइड ड्रामा ईमानालाई बेन इमानालाई प्रदान गरियो। यो कान्समा आधिकारिक रूपमा छनोट हुने पहिलो रुवाण्डाली फिल्म बनेको छ। त्यस्तै द ड्रिम्ड एडभेन्चरले जुरी अवार्ड जित्दा हाभियर काल्भो र हाभियर आम्ब्रोसीले द ब्ल्याक बल तथा पावेल पावलिकोव्स्कीले फादरल्याण्डबाट निर्देशकको अवार्ड चुमे। इम्यानुएल माक्किया र भालेन्टिन क्याम्पान्येले कावार्डबाट अभिनेता, भर्जिनी एफिरा र ताओ ओकामोटो अल अफ अ सडनबाट उत्कृष्ट अभिनेत्री, इम्यानुएल मार्रेले अ म्यान अफ हिज टाइमबाट पटकथाको अवार्ड जिते। विशेष जुरी अवार्ड आइरन ब्वायले, सर्वोत्कृष्ट अभिनेता ब्राड्ली फियोमोना डेम्बेआसेटले कोंगो ब्वायबाट प्राप्त गरेका थिए। कान्सको नौ सदस्यीय निर्णायक मण्डलीको नेतृत्व दक्षिण कोरियाली चर्चित निर्देशक पार्क चान–वुकले गरेका थिए।











प्रतिक्रिया