नृसिंहधाममा एक महिने पुरुषोत्तम महोत्सवको अवसरमा १०८ तीर्थ यज्ञको पूर्णाहुति तयारी

0
Shares

धादिङ ।

प्रत्येक तीन वर्षमा आउने पुरुषोत्तम (अधिक) महिनाको अवसरमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगममा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नृसिंहधाममा एक महिने “नृसिंहधाम पुरुषोत्तम महामहोत्सव” संचालन गर्न तयारी रहेको छ ।

नृसिंहधामका पिठाधिस डा. श्रीवास कृष्णदास ब्रम्हाचारीसहित आयोजकको तर्फबाट जिल्ला स्थित सुरक्षा प्रमुखहरु र स्थानीय सरकार प्रमुखहरु सहभागि गराएर गरेको समन्वय बैठकमा दैनिक ५० हजार भक्तजनहरु आउने अनुमान गरिएको छ ।

अघिल्लावर्षहरुमा साउन महिनामा लाग्ने मेला यस वर्ष अधिकामास जेठ महिनामा परेका कारण यस समयमा पुण्य हुने हिसाबले भक्तजनहरु सहभागि हुने जनाइएको छ ।

मूल आयोजक समितिका अध्यक्ष फणिकान्त छत्कुलीका अनुसार नृसिंहधाम प्राचीनकालदेखि नै धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। स्कन्दपुराण लगायतका शास्त्रीय ग्रन्थमा उल्लेख भएअनुसार भगवान् नृसिंहदेव यही पवित्र स्थलमा प्रकट भई दिव्य लीला गर्नुभएको धार्मिक विश्वास रहिआएको छ। साथै, विभिन्न अनुसन्धान तथा उत्खननबाट करिब १७ सय वर्ष पुराना पुरातात्विक अवशेष फेला परेकाले यस धामको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ ।

नृसिंहधामका पिठाधिस डा. श्रीवास कृष्णदास ब्रम्हाचारीले धार्मिक मान्यताअनुसार भक्त प्रह्लादको तपोबलद्वारा स्थापित १२ नृसिंह पीठमध्ये नेपालमा अवस्थित एकमात्र पवित्र पीठ यही नृसिंहधाम भएकाले यसको विशेष महत्त्व रहेको बताउनुभयो ।

प्रत्येक तीन वर्षमा आउने पुरुषोत्तम (अधिक) महिनालाई सनातन परम्परामा अत्यन्त पवित्र मानिन्छ । यही अवसर पारेर परापूर्वकालदेखि नृसिंहधाम क्षेत्रमा विशेष धार्मिक महोत्सव आयोजना हुँदै आएको र यस वर्ष पनि सोही परम्परालाई अनुसार पुरुषोत्तम महिनाभर महोत्सव सञ्चालन गर्न लागिएको जनाइएको छ । विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको १०८ तीर्थ यज्ञ कार्यक्रमको पूर्णाहुति समेत पुरुषेतम महिनामा नृसिंहधाममा गरिने पिठाधिस ब्रम्हाचार्यले बताउनुभयो ।

महोत्सव अवधिभर पुरुषोत्तम स्नान, व्रत–कथा महात्म्य श्रवण, प्रत्येक गोत्रका लागि छुट्टाछुट्टै हवनकुण्ड निर्माण गरी वैदिक विधिअनुसार हवन–पूजा, देश–विदेशबाट आमन्त्रित साधु–सन्त, विद्वान् तथा कथा वाचकबाट प्रवचन तथा धर्मोपदेश कार्यक्रम सञ्चालन गरिनेछ । यसका साथै ११ हजार शालिग्रामको सबालाख दण्डवती परिक्रमा, श्रीरामकथा वाचन, दैनिक भजन–कीर्तन, आरती तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

बुढीगण्डकी र नेत्रावती नदीको संगम स्थलमा रहेको नृसिंहधाम नेपाल भारत, भुटान, चिन र अन्य मुलुकबाट समेत भक्तजनहरु सहभागि हुने अपेक्षा गरिएको छ।

आयोजकको तयारी अनुसार पुरुषोत्तम महिनामा स्नान गर्न, पुजा तथा हवन गर्न आउने र रातभर दियोमा बत्तीबालेर जागाराम बस्ने भक्तजनहरुको लागि दैनिक १० हजारसम्मलाई निःशुल्क भोजन सेवा, १ हजारसम्मको आवास सेवा समेत दिन सकिनेगरि तयारी गरिएको र यसको तयारी गरिएको आयोजकले जनाएको छ ।

oplus_8388642

भक्तजनहरूको आध्यात्मिक तथा भौतिक जीवनमा शान्ति, समृद्धि र उन्नति ल्याउने उद्देश्यले करिब एक लाख श्रद्धालुलाई निःशुल्क सिद्ध श्री लक्ष्मी–नरसिंह यन्त्र वितरण गरी नेपालभरी रथयात्रा गरेर निमन्त्रण समेत गरिएको छ । आफ्नै हातले शालिग्राम स्थापना गरी आजीवन सेवा गर्ने, पितृका नाममा हवन गर्ने तथा पुरुषोत्तम महिनामा स्नान, जप, तप, दान, दीपदान जस्ता धार्मिक कार्यबाट अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास समेत जोडिएको छ ।

साथै पुरुषोत्तम महोत्सवको अबसर पारेर बैशाख २६ र २७ गते विज्ञान र बेदान्त सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी समेत गरिएको पिठाधिस ब्रम्हाचार्यले बताउनुभएको छ ।