अतिक्रमणमुक्त भयो मनोहरा सुकुम्वासी बस्ती 

2.07k
Shares

भक्तपुर ।

भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काएर बस्ती खाली गरिएको छ ।

मध्यपुर थिमि नगरपालिका १ लोकन्थली र काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीका ८ सय १० घरटहरा भत्काउने काम आज दिउँसो सम्पन्न भएको हो ।

मनोहरा सुकुम्वासी बस्ती क्षेत्रका सम्पुर्ण संरचना भत्काउने काम सम्पन्न भएको र सो स्थानका संरचना भत्काउन २४ वटा डोजर  प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइ सकिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

बस्तीमा अनधिकृत रूपमा बनाइएका भत्काउन बाँकी घरटहरा आज बिहानैदेखि हटाउन सुरु गरिएको थियो ।

बिहानै १३ वटा डोजर प्रयोग गरेर बिहानै देखि बाँकी घरहरु भत्काउन सुरु गरिएकामा पछि थप डोजर थप गरी  बस्ती खाली गरिएको हो ।

जम्मा ८ सय १० घरटहरा रहेको सो बस्तीमा ६० प्रतिशत संरचना हिजो भत्काइएको थियो । बाँकी सबै घरटहरा आज दिउँसोसम्ममा भत्काई सकिएको हो ।

त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको छ । शनिवार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुंगामुढा भएको थियो ।

सुुकुम्बासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख डीएसपी नवराज ढुंगानासहित २२ जना शुरक्षाकर्मी घाइते समेत भएका थिए । हिजो आइतबार बिहान करिव दुई हजारको संख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफै बस्ती छोडेका थिए ।

आइतबार र सोमबार  शान्तिपूर्णरूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरी उपरीक्षक  खड्काले जानकारी दिनुभयो ।अबैध घरटहरा भत्काउन आज प्रहरी र काठकाडौं महानगरपालिकाका नगर प्रहरी परिचालन गरिएको थियो ।

यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको थियो ।

सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गर्ने अभियानअन्तर्गत डोजर लगाएर यहाँका घरटहरा अस्ति देखि नै भत्काउन सुरु गरिएको थियो ।

सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो ।

बस्ती हटाइए पनि भत्काइएका संरचना र सामग्री अझै सोही स्थानमै छरिएर रहेकाले आवागमनमा केही कठिनाइ भएको स्थानीयले बताएका छन् । 

सरकारले ती सामग्री हटाउने तथा क्षेत्र सफा गर्ने कार्य पनि क्रमशः अघि बढाइने जनाएको छ ।