काठमाडौँ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने लगभग निश्चित भएको छ। पार्टीभित्र सहमतिको वातावरण बनेपछि प्रतिस्पर्धाको सम्भावना अन्त्यतिर पुगेको हो।
संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउने उद्देश्यले पार्टी केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरेको कार्यदलले आङ्देम्बेकै नाममा सहमति जुटाएको छ। कार्यदलले पार्टी एकता मजबुत बनाउने सन्देश दिन सर्वसम्मत नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ।
कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति अन्तिम चरणमा पुगेको छ। प्रारम्भमा सर्वसम्मत भएमा मात्र उम्मेदवारी दिने तयारीमा रहेका अर्जुननरसिंह केसीले समेत पछि हट्ने संकेत दिएका छन्, जसले आङ्देम्बेको बाटो सहज बनेको छ।
आङ्देम्बे र केसी दुवै समानुपातिकतर्फबाट निर्वाचित सांसद तथा पार्टीका पूर्व सहमहामन्त्री हुन्। पार्टीभित्र आन्तरिक सहमतिको अभ्यासमार्फत नेतृत्व चयन गर्न खोजिएको यो निर्णयलाई कांग्रेसभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ।
औपचारिक घोषणा भने संसदीय दलको बैठकबाट हुने बताइएको छ।











प्रतिक्रिया