वास्तविक सुकुम्बासी पत्ता लगाउन ‘स्क्रिनिङ’

उपत्यकाका ४ क्षेत्रका सुकुम्बासी बस्ती खाली


–कसरी गरिँदै छ व्यवस्थित ?

काठमाडौं।

सरकारले काठमाडौंका ४ स्थानका सुकुम्बासी बस्ती खाली गर्दै वास्तविक सुकुम्बासी पत्ता लगाउन सुरु गरेको छ । शनिवार बिहानदेखि हिजो आइतबारसम्म थापाथली, मनोहरा, गैरीगाउँ र शान्तिनगरका सुकुम्बासी बस्ती खाली गर्दै उनीहरुको स्क्रिनिङ थालिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र काठमाडौं महानगरपालिका प्रहरी बलका करिब ३ हजार सुरक्षाकर्मीको टोलीले बस्ती खाली गरेको हो । तीनै स्थानमा गरी करिब १ हजार सानाठूला घरटहरा थिए । सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको कामपा प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘उपत्यकाका सबै सुकुम्बासी बस्ती हटाउने योजनाअनुसार थापाथलीबाट सुरु गरेका हौं ।’

सरकारले देशभरका सुकुम्बासीलाई व्यवस्थित गर्ने योजनाअनुसार काठमाडौंबाट बस्ती खाली गर्न थालेको हो । अभियानअन्तर्गत काठमाडौं उपत्यकाका साथै रूपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हिजो आइतबार हटाइएको छ । बुटवल उपमहानगरपालिकाले शनिवार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो ।

नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका १ दर्जन सरकारी तथा ८६ निजी संरचना गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले हटाएको छ । नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले हिजो पर्साको गण्डक नहरको डिलमा अतिक्रण गरेर निर्माण गरिएका घर, टहरालगायत संरचना हटाइएको छ । खाली भएका बस्तीबाट सुकुम्बासी पहिचान गर्न सुरु गरिएको छ ।

सकुम्बासी प्रमाणित भएमा उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउने तयारी सरकारको छ । सरकारले इचंगुमा सुकुम्बासी व्यवस्थापन गर्न बनाएको भवनमा राख्ने भएको छ । सो भवनमा लग्नुअघि सुकम्बासी भएको प्रमाणित गरिनेछ । प्रमाणित भएकालाई मात्र इचंगुमा तत्कालका लागि बसोबासको व्यवस्था गर्ने भएको छ ।

प्रमाणित भएका सुकुम्बासी व्यवस्थापन गर्न ती भवनको सफाइ भइरहेको छ । सुरुमा दशरथ रंगशालाबाट स्क्रिनिङ गरी होल्डिङ सेन्टरमा लगिने र होल्डिङ सेन्टरबाट प्रमाणित भए स्थायी बसोबासको व्यवस्था मिलाउने तयारी सरकारले गरेको छ । यी सबै कामको व्यवस्थापन सहरी विकासमन्त्री सुनील लम्सालको नेतृत्वमा काठमाडौं महानगरपालिका, काठमाडांै उपत्यका विकास प्राधिकरणले गरिरहेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार थापाथलीमा १ सय ४३, गैरीगाउँमा १ सय ६२, गोठाटारमा ७७, शान्तिनगरमा ४ सय ७६ तथा मनोहरा टोलमा १३ गरी कुल ८ सय ७१ परिवार छन् । प्राधिकारणका विकास आयुक्त जानुका ढकालले हालसम्म करिब ३ सय सुकुम्बासीलाई विभिन्न स्थानमा व्यवस्थापन गरिएको जानकारी दिनुभयो । तर, हिजो मनोहरामा करिब ७ सय घरटहरा खाली गरिएको थियो ।

उहाँले भन्नुभयो– ‘धेरै कीर्तिपुर र बाँकीलाई होटल संघको सहयोगमा राजधानीका विभिन्न होटलमा राख्ने तयारी भइरहेको छ । राधाश्वामी सत्सङ भएको सबै कोठा भरिएका छन् । होटल खोजी गरी राखेका छौं ।’ सुकुम्बासीको औषधिउपचार, खानालगायत सबै व्यवस्था कामपाले गरिरहेको कामपा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताउनुभयो ।