दोलखा ।
दोलखाको कुनाका वस्ति हुन् ताम्चेत दुधपोखरी र भुषाफेदा । शैलुङ गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने यी गाउँ लगभग सुनसान जस्तै छ । २०७२ बैशाख १२ गतेको भुकम्पको त्रास मनबाट हटिनसकेको बताउने यी गाउँका स्थानीय त्यो त्रासदिपछि गाउँमा केही राम्रा– केही नराम्रा नतिजा देखिएको बताउछन् । शैलुङ गाउँपालिका वडा नम्बर– २ भुषाफेदा स्थित घट्टेखोलामा स्वास्थ्य चौकी भवनसंगै सानो होटल र पसल चलाएर बसेकी ६५ बर्षिय कालिका लामा २०७२ को विनाशकारी भुकम्प पछि गाउँमा मानिसहरु रित्तिदै गएको तितो यर्थाथ सुनाउछिन् ।

भुकम्प पछि अनुदानको घर त सबैले बनाएका छन् तर मानिसको बसोबास चाहि कि विदेश, कि काठमाडौँ तिर छ– कालिका लामाले भनिन् । कोही विदेशमा कमाई गर्न गए, कोहि छोरा– छोरी पढाउन काठमाडौँ पुगेका छन् कालिकाले भनिन्– गाउँमा त हामी जस्ता जेष्ठ नागरिकहरु मात्र छौ । भुकम्प पछि प्रत्येक वडामा स्वास्थ्य चौकी र स्वास्थ्यकर्मी हुने भएकोले अहिले गाउँमा झाडापखाला, टिवि जस्ता सर्ने रोगमा भने कमी आएको कालिका लामाको अनुभव छ ।
भुकम्प पछि गाउँमा धेरै एनजिओ– आईएनजिओ आए, सफा बस्नुपर्ने, स्वास्थ्यको ख्याल गर्नुपर्ने जस्ता कुराहरु पढाए, स्वास्थ्यकर्मी र स्वास्थ्यचौकीहरु पनि धेरै भए त्यसैले झाडापखाला जस्ता सरुवा रोग अहिले देखिदैन– उनले भनिन् । शैलुङ वडा नम्बर– २ भुषाफेदा मालिघ्याङका सोम बहादुर श्रेष्ठ पनि भुकम्प पछि सर्ने रोगमा निक्कै कमी आएको बताउछन् । तर क्यान्सर, दम, सुगर, प्रेसर, मिर्गौला जस्ता रोगका विरामीको संख्यामा भने उल्लेख्य बृद्धि भएको सोम बहादुरको भनाई छ ।
भुकम्प पछि गाउँघरमा स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीको संख्या बढेको र सरसफाई गर्नुपर्छ भन्ने चेतनाको विकास भएका कारणले पनि झाडापखाला, टिवि जस्ता सर्नेरोग कम भएको हुनसक्ने सोम बहादुरको भनाई छ । शैलुङ वडा नम्बर– १ ठाँडेका खड्ग बहादुर मोक्तानले पनि २०७२ सालको विनाशकारी भुकम्पले धेरै मानिसलाई विस्थापित बनाएको भएपनि स्वास्थ्य चौकीहरुको राम्रो सुविधाका कारण विगतमा जस्तो झाडापखालाको विरामी भेटिन छोडेको बताए ।
शैलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु कार्की पनि विनाशकारी भुकम्प र कोरोना महामारी पछि पालिकाको सबै वडाहरुमा सर्ने रोग घटेको बताउछन् । भुकम्प अघि सर्ने र नसर्ने रोग बराबरी जस्तै थियो स्वास्थ्य शाखा प्रमुख कार्कीले भने– अहिले सर्ने रोग ३० प्रतिशत र नसर्ने रोग झण्डै ७० प्रतिशत रहेको छ ।
भुकम्प पछि सुविधासम्पन्न स्वास्थ्यचौकी बनेको, चेतनामुलक अभियान सञ्चालन भएको र स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति समेत गाउँ– गाउँमा पुग्ने गरेकोले सर्ने रोग घटेको स्वास्थ्य शाखा प्रमुख कार्की बताउछन् । तर अस्वस्थ खानपानले नसर्ने रोग भने बढायो– उनले भने । शैलुङ गाउँपालिकामा अहिले प्रत्येक वडामा सुविधासम्पन्न भवन सहित स्वास्थ्य संस्था रहेका छन् । भुकम्प पछि गाउँमै प्रशुती सेवा लगायतका धेरै स्वास्थ्य सेवाहरु उपलब्ध रहेको शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ बताउछन् ।
स्वास्थ्य सेवामा भएको विकास, प्रत्येक गाउँमा पालिकाले सञ्चालन गर्दै आएको सचेतना मूलक कार्यक्रम लगायतका कारण भुकम्प पछि सर्ने रोगमा कमी आएको अध्यक्ष श्रेष्ठ बताउछन् । अस्वस्थ खानपान, तरकारी लगायत खाद्य पर्दामा विषादीको प्रयोग आदी कारणले भुकम्प पछि क्यान्सर, मुटु रोग, सुगर लगायतका नसर्ने रोगबाट प्रभावितको संख्यामा भने बृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । कृषि उत्पादनमा विषादीको प्रयोग रोक्न पालिकाले कडाईका साथ काम गरिरहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।











प्रतिक्रिया