काठमाडौँ।
काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरूमा वायु प्रदूषण फेरि तीव्र रूपमा बढेको छ। केही समयअघि वर्षाका कारण सुधारिएको हावाको गुणस्तर अहिले पुनः खस्किँदै ‘धेरै अस्वस्थ’ स्तरमा पुगेको छ।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मङ्गलबार दिउँसो करिब ९२ रहेको सूचकाङ्क आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर स्वास्थ्यका हिसाबले जोखिमपूर्ण मानिन्छ र सामान्य नागरिकदेखि संवेदनशील समूहसम्मलाई असर पार्न सक्छ।
एक्युआईको मापदण्डअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ र ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार हाल वर्षा नहुनु, बढ्दो सुक्खापन, कृषि अवशेष जलाउने बानी तथा वन डढेलोका घटनाले प्रदूषण बढाएको हो। वर्षा नभएकाले हावामा रहेका धुलो र धुवाँका कणहरू जमिनमा बस्न नसकी वायुमण्डलमै थुप्रिएको उनले बताए।
उता, जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी केही दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना कम रहेको र तापक्रम अझै बढ्न सक्ने संकेत देखिएको बताएकी छन् । यसले वायु प्रदूषण अझै बढ्ने जोखिम देखाएको छ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वास र मुटुसम्बन्धी रोग भएका व्यक्तिहरू बढी प्रभावित हुन सक्छन्। स्वास्थ्य विज्ञहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट बच्न सुझाव दिएका छन्।











प्रतिक्रिया