पठन संस्कृति अबको आवश्यकता : शिक्षाकर्मी जोशी 


ललितपुर । 

पठन संस्कृति विकासका लागि व्यावहारिक रणनीति आवश्यक रहेको शिक्षाकर्मी दीपकराज जोशीले बताउनुभएको छ । जेबि एजुकेशन इन्टरनेसनल फाउण्डेशनको आयोजना तथा तथ्यपाटी डटकमको सहकार्यमा सञ्चालित पहिलो संवाद श्रृंखलामा फाउण्डेशनका प्रमुख जोशीले उज्यालो भविष्यको आधारशिलाका रूपमा रहेको पठन बानीको विकासका लागि घर र विद्यालय दुवै स्थानमा उपयुक्त पूर्वाधार र शान्त वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

 उहाले भन्नुभयो– नियमित संवाद, पुस्तकहरूसँगको सामीप्यता र नेतृत्वको सकारात्मक अग्रसरताले बालबालिकालाई अध्ययनतर्फ आकर्षित गर्न ठूलो भूमिका  खेल्नु पर्छ । बालबालिकामा सुरुवाती चरणदेखि नै “म पढ्न सक्छु” भन्ने आत्मविश्वास जगाउनु सबैभन्दा महत्त्वपूर्ण कदम भएको उहाँको भनाई छ ।  यसका लागि जटिल पुस्तकहरूको सट्टा सजिला पुस्तकहरूबाट पढ्न सुरु गराउने, उनीहरूको नतिजालाई मात्र नहेरी लगनशीलता र प्रयासको खुला प्रशंसा गर्ने र अभिभावक स्वयंले पनि आफ्नो पढ्ने बानी बसालेर बालबालिकाका लागि एउटा आदर्श नमुना बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले पठन संस्कृतिको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

विशेष गरी ३ देखि ७ वर्षको उमेर समूहका साना बालबालिकाका लागि कल्पना शक्ति बढाउने चित्रयुक्त र रोचक कथाका पुस्तकहरू उपयोगी हुन्छन् भने ८ देखि १२ वर्षका जुभिनाइल समूहका बालबालिकाका लागि उनीहरूको जिज्ञासालाई चुनौती दिने खालका साहसिक तथा रहस्यमय कथाहरू उपयुक्त हुने दाबी गरिएको छ ।

१३ वर्षभन्दा माथिका किशोरकिशोरी र युवाहरूका लागि वास्तविक संसारका समस्या र समाधान समेटिएका ज्ञानवर्धक, जीवनी तथा गैह्रकाल्पनिक (नन्फिक्सन) प्रेरणादायी पुस्तकहरू छनोट गर्नुपर्ने कुरामा उहाँको जोड छ । डिजिटल युगमा बालबालिकालाई ग्याजेट र स्क्रिन टाइमबाट टाढा राख्दै पुस्तकहरूतर्फ आकर्षित गर्न व्यवहार र शैलीमा परिवर्तन ल्याउनु आवश्यक रहेको प्रस्तुतीकरणमा उल्लेख गरिएको छ ।

जोशीले भन्नुभयो–‘परिवारका सदस्य सँगै बसेर पढ्ने समय मिलाउँदा पारिवारिक सम्बन्ध समेत मजबुत हुने गर्दछ । दैनिक जीवनमा पठन कार्यलाई प्राकृतिक बानीका रूपमा रूपान्तरण गर्न एक निश्चित समयतालिका निर्धारण गर्न सकिन्छ, जसमा बिहानको समयमा १५ मिनेट, विद्यालयबाट फर्केपछि २० मिनेट र राति सुत्नुअघि नियमित रूपमा कथाहरू पढ्ने अभ्यास गराउनु फलदायी हुन्छ’ । पठन संस्कृतिलाई प्रोत्साहन गर्नका लागि उपहार दिने शैलीमा समेत परिवर्तन ल्याउन जोशीले प्रस्ताव गर्नुभयो ।

बालबालिकाको जन्मदिन, उनीहरूले हासिल गरेका विभिन्न उपलब्धि वा विद्यालयहरूमा पठन प्रतियोगिता आयोजना गरी पुरस्कारका रूपमा पुस्तक प्रदान गर्ने संस्कृति बसाल्न आग्रह गर्दै उहाँले विद्यालयहरूमा सिर्जनात्मक विधिहरू अपनाउँदै संवादलाई प्राथमिकता दिने र घरमा दैनिक पढ्ने समय तोकेर आफैं उदाहरण बन्ने सामूहिक प्रतिबद्धताले मात्र बालबालिकाको उज्ज्वल भविष्य सम्भव हुने कुरा स्पष्ट पार्दै शिक्षाकर्मी जोशीले पठन बानीको विकासका लागि आजैदेखि सानो कदम चाल्न सुझाव दिनुभयो । 

कार्यक्रममा ललितपुर महानगरपालिका नं १८ का वडाअध्यक्ष दामोदर खड्का, बालकुमारी आधारभूत विद्यालयका प्रअ सुरेन्द्रराज पौडेल, शिक्षाकर्मीहरु डा मञ्चला झा, डा, एनडी लामा, संस्कृति स्कुल लगनखेलका  प्रिन्सिपल उर्वसी चौहान खड्का, वालकुमारी सामुदायीक वनका अध्यक्ष किशोर कुँवर, नेपाल समाचारपत्रका पत्रकार ईश्वरराज ढकाल, तथ्यपाटी डटकमका अध्यक्ष विधान रिजाल लगायतले पठन संस्कृतिलाई विकाससँग जोड्न र ग्याजेटसँगै पठन संस्कृति वृद्धिका लागि आफ्ना भनाइ राख्नुभएको थियो । 

संवाद कार्यक्रममा वडाअध्यक्ष खड्काले पठन संस्कृति विकास गर्नु अहिलेको अपरिहार्य रहेको बताउनुभयो । उहाले भन्नुभयो–अब पुस्तकालयमा पढ्ने संस्कारको विकार गर्नुपर्छ । हरेक विद्यालयले पुस्तकालयमा विविध कार्यक्रम सञ्चालन गर्नुपर्छ । उहाले हरेक  कार्यक्रममा खादाको सट्टा पुस्तक चिनो प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संवाद श्रृंखलाको सहजीकरण तथ्यपाटी डटकमका सम्पादक बिएम आचार्यले गर्नुभएको थियो ।