सिन्धुली ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले एक बालकको मृत्यु घटनाबारे सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा फैलिएका भ्रामक र अपुष्ट समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका सुनकोशी गाउँपालिका–३ का ३ वर्षीय बालकको ७ गते इलाका प्रहरी कार्यालय, खुर्कोटको हिरासत कक्षभित्र शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेका थिए। तत्काल उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनासँग सम्बन्धित विषयमा तथ्यहीन, भ्रामक तथा अतिरञ्जित समाचार विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भइरहेकाले यसले शान्ति सुरक्षा व्यवस्थामा समेत नकारात्मक असर पार्न सक्ने प्रहरीको भनाइ छ। यस्ता आधारहीन सामग्री प्रकाशन/प्रसारण नगर्न सम्बन्धित सबैमा प्रहरी कार्यालयले अनुरोध गरेको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिहरू समावेश भएको समिति गठन गरिएको छ। उक्त समितिले घटनाको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्ने जनाइएको छ। प्रहरीले सत्यतथ्य नबुझी अफवाह फैलाउने कार्य नगर्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न सबैलाई आग्रह गरेको छ।











प्रतिक्रिया