काठमाडौं ।
काठमाडौंको स्वयम्भू (सानो भर्याङ) मा रहेको नीजि बिद्यालय स्वस्तीश्री गुरुकुलले बिद्यार्थी र अभिभावकलाई ठगीरहेको छ । सो बिद्यालयले नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईबी डिपी(+2 equivalent)को पाठ्यक्रम संचालन गरेर बिद्यार्थी र अभिभावकलाई ठगीरहेको हो । स्वस्तीश्रीले कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीमा भर्ना लिदै पाठ्यक्रम संचालन गरेर अभिभावक र बिद्यार्थीबाट लाखौ रुपैयाँ ठगी गरिरहँदा पनि सरकारी निकायको यसतर्फ ध्यान गएको छैन ।
संचार माध्यमहरुमा सो बिद्यालयको ठगी बारेमा समाचार आएपछि संचालकहरु आफ्नो गल्ती ढाकछोप गर्ने कसरतमा लागिपरेका छन् ।
आईबी डिपी पाठ्यक्रम के हो ?
यो कक्षा ११ र १२ को पाठ्यक्रम हो । जुन स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अर्गनाइजेसनको पाठ्यक्रम हो । यो निकै महंगो पाठ्यक्रम मानिन्छ । यो पाठ्यक्रम नेपालका बिद्यालयहरुमा पढाउन नेपाल सरकारको अनिवार्य स्वीकृति चाहिन्छ । तर स्वस्ती श्रीले सरकारबाट अनुमति नलिइकन यो पाठ्यक्रम संचालन गरिरहेको छ ।
तर अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई मिलेमतोमा सबै अभिभावकलाई ढाँटेर विद्यार्थीको भविष्यसँग खेलवाड गरी अनुमतिबिना नै पढाइरहँदा बिद्यार्थीको भविष्य र लगानी डुब्ने अवस्था आएको छ । यसप्रति अभिभावकले चिन्ता प्रकट गरेका छन् ।
सरकारी अनुमति नलिदा के हुन्छ ?
शिक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार सरकारी अनुमतिबिना पाठ्यक्रम सञ्चालन गर्दा समकक्षता निर्धारण हुँदैन । बिद्यार्थीले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत पाउने छैनन् ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले २०७२ सालदेखि बिदेशी पाठ्यक्रमलाई अनुमति दिएको छैन । तर बीचमा मन्त्रिपरिषदको निर्णयबाट केही बिद्यालयले अनुमति पाएका थिए । मन्त्रालयका बिद्यालय शाखा प्रमुख कृष्ण चन्द्र पोखरेलले स्वस्ती श्रीले आइबी डीपी संचालनको अनुमति नपाएको तर अनुमतिका लागि निवेदन दिएको बताउनु भयो । पोखरेलले निवेदन दिएकै भरमा अनुमति नै नपाई त्यसरी बिदेशी पाठ्यक्रमको कक्षा संचालन गर्नु गैर कानुनी भएको बताउनु भयो । अनुमति नपाएको बिदेशी बोर्डको परीक्षा दिंदा बिद्यार्थीले छात्रबृत्तिका लागि स्वदेश तथा बिदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ ।
अनुमति नलिई विदेशी बोर्डको पाठ्यक्रम सञ्चालन गरेका विद्यालयबाट प्रमाणपत्र पाएका विद्यार्थीहरूलाई विदेशी प्रमाणपत्रका आधारमा नेपालमा समकक्षता नदिने शिक्षा मन्त्रालयको भनाई छ । बिद्यार्थी र अभिभावकलाई भ्रममा पारेर कक्षा संचालन गर्ने शिक्षण संस्थाहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयको छ । तर यसप्रति बिद्यार्थी र अभिभावक पनि सचेत हुनुपर्ने पोखरेलले बताउनु भयो । किनकि आफ्ना छोराछोरी अध्ययन गर्ने र गर्न लागेका बिद्यालय के कस्तो हो उसले सरकारबाट बिदेशी पाठ्यक्रम संचालन गर्ने अनुमति पाएको छ कि छैन भन्ने कुरामा अभिभावक जिम्मेवार हुनुपर्छ ।
शिक्षा क्षेत्रका जानकारहरुपनि यसरी अनुमति नलिइ बिदेशी पाठ्यक्रम संचालन गरिनु सरासर ठगी भएको र यसले नेपालको शिक्षा क्षेत्रलाई बद्नाम गर्ने हुनाले तत्काल कारवाही हुनुपर्ने बताउँछन् । सो बिद्यालयले आफूहरुले अनुमति लिने काम भइरहेको भन्दै बिद्यार्थी तथा अभिभावकलाई झुक्याएर बिद्यार्थी भर्ना गर्ने गरेको स्रोतको भनाई छ । उक्त बिद्यालयले पाठ्यक्रम संचालन अनुमतिका लागि सरकारी निकायमा निवेदन दिएकै भरमा अनुमति नै नपाई यसरी महंगो पाठ्यक्रम पहुचका भरमा संचालन गरिरहेको छ ।
सरकारले नेपालमा केही नीजि क्षेत्रका बिद्यालयलाई मात्रै धेरै अगाडीदेखि यो पाठ्यक्रम संचालनका लागि अनुमति दिएको थियो । बिद्यार्थीहरुले आईबी डिपी ( +2 equivalent)को कक्षामा (११र १२) मा गरी दुई वर्षमा प्रति बिद्यार्थी २० लाख भन्दा बढी बुझाउने गरेका छन् । बिद्यालय संचालन र व्यवस्थापनको जिम्मेवारी संविधानले स्थानीय तहलाई दिएको छ । तर पाठ्यक्रमबारे स्थानीय तहलाई अधिकार छैन । नागार्जन नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुँवरले स्वस्तीश्रीले कक्षा १२ सम्म कक्षा संचालन गर्ने अनुमति पाएको तर पाठ्क्रमका बारे आफूहरुको अधिकार नभएको बताउनु भयो ।
उहाँले पाठ्यक्रम संघीय सरकारले हेर्ने भएकाले स्थानीय तहलाई जानकारी नहुने उल्लेख गर्नुभयो । विश्वमा आईबी डीपि उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना हुन सहज मानिन्छ । तर स्वस्तीश्री गुरुकुलको यो ठगीले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने काममा असर पार्न सक्ने बिज्ञहरुको भनाई छ । सरकारले कारवाहीको चेतावनी दिदा दिदै पनि अटेर गरेर उसले पाठ्यक्रम संचालन र बिद्यार्थी भर्ना गर्ने काम रोकेको छैन ।











प्रतिक्रिया