हेटौंडा ।
लामो प्रयासपछि चितवन र मकवानपुरका ९ जना चेपाङ विद्यार्थीले निर्माण गरेको ‘स्लिपर्स टु स्याटलाइट’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण भएको छ । उक्त स्याटलाइट बुधबार बिहान नेपाली समयअनुसार १० बजेर १ मिनेटमा चिनियाँ रकेट ‘काइनेटिका वन’ मार्फत प्रक्षेपण गरिएको हो ।
सो अभियानमा कक्षा ७ र ८ मा अध्ययनरत ९ विद्यार्थी सहभागी छन् । उनीहरुलाई अन्तरिक्ष प्रतिष्ठान नेपालका ६ इन्जिनियरले सघाएका थिए । स्याटलाइटमा दुई क्यामेरा जडान गरिएका छन् । यी क्यामेराले नेपालको वनस्पति र पानीको अवस्थाबारे विवरण संकलन गर्नेछन् । यसमा भूकम्पको पूर्वसूचनासम्बन्धी प्रविधिको अध्ययन गर्ने प्रणालीसमेत समावेश छ । स्याटलाइट कम्तीमा डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको छ ।
यो दुनियाँकै लागि एक अद्भूत सफलतामा चित्रित भएको छ । चिनियाँ रकेटमार्फत पठाइएको १ दशमलव २ किलो तौलको स्याटलाइटले अन्तरिक्षबाट सिग्नल पठाउन शुरु गरिसकेको छ । चप्पलमै संघर्ष गर्ने चेपाङ बालबालिकाले अन्तरिक्षमा स्याटलाइट पठाएर नेपाललाई गर्वको शिखरमा पु¥याएका छन् ।
कम्प्युटर अनअफ गर्न सिक्नेदेखि स्याटलाइट बनाउनेसम्मको यात्रामात्र दुई वर्षअघि शुरु भएको थियो । तर, सिकायो र सिक्न खोजियो भने असम्भव भन्ने केही छैन भन्ने यो विश्वकै बालबालिकाका लागि उदाहरण थियो । कठिनाइका बाबजुद उनीहरुले अन्तरिक्ष इतिहासमा कोसेढुंगा बनाउन सफल भएका छन् । उनीहरुको परिवारमात्र होइन, समुदाय नै निकै विपन्नतामा छ । बिहान खाए बेलुका अब के खाने भन्ने अन्नको जोहो गर्न नै अभिभावकलाई धौ–धौ छ । तर, विद्यार्थीहरुको आत्मविश्वास बढ्दै हाल उनीहरु रोबोटिक्समा समेत काम गरिरहेका छन् ।
‘स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किनेर लगाउन पनि धौ–धौ पर्ने समुदायका मानिसको स्याटलाइट निर्माणसम्मको यात्रा उद्दे्रश्य लिएर मिसन अघि बढाइएको हो । नेपालमा उक्त समुदाय करिब ९० प्रतिशत गरिबीका रेखामुनि छ । नेपालमा डिजाइन गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले ‘स्लिपर्स टु स्याटलाइट–२’ परियोजना शुरु गर्ने तयारी गरेको छ ।
उक्त स्याटेलाइटमा जडित दुई क्यामेराले नेपालका वनस्पति तथा जलस्रोतसम्बन्धी जानकारी संकलन गर्नेछन् । यसमा भूकम्पको पूर्वसूचना अध्ययन गर्ने प्रविधि पनि समावेश गरिएको छ । पृथ्वीको कक्षामा रहँदै यसलाई यहींबाट नियन्त्रण तथा दिशा परिवर्तन गर्न सकिने प्रणालीसमेत छ । यसमा पहिलेका ‘नेपाली–स्याट वन’ र ‘मुनाल’ उपग्रहले प्रयोग गरेको प्रविधिलाई उन्नत बनाइिएको छ, जसले क्युबस्याटभित्र थप अनुसन्धान तथा अन्य उद्देश्यका कामका लागि पर्याप्त स्थान उपलब्ध गराउँछ ।
प्राकृतिक प्रकोपका बेला आवश्यक तथ्यांक संकलन र प्रसारणमा यस मिसनले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया