भूतपूर्व सैनिक सम्मेलन–२०८२ सम्पन्न, करिब ६ हजार सहभागी


काठमाडौ ।

नेपाली सेनाद्वारा आयोजित “भूतपूर्व सैनिक सम्मेलन–२०८२” अन्तर्गत अन्तिम चरणको कार्यक्रम सम्पन्न भएको छ। मध्य पूर्वी पृतना अन्तर्गत हिमाली तथा पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको हो।

मुख्य सम्मेलन केन्द्र खड्गदल गण, रामेछापमा बलाधिकृत रथी श्री प्रदीप जंग के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो। साथै अन्य दुई उपकेन्द्रहरूमा जेष्ठ अधिकृतहरूको उपस्थितिमा समानान्तर रूपमा कार्यक्रम सञ्चालन गरिएको थियो। सम्मेलनमा करिब ६ हजार ५ सय अवकाश प्राप्त सैनिक तथा उनका परिवारजनको उपस्थिति रहेको जनाइएको छ।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा “प्रण–सेनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल सन्देशका साथ कार्यक्रम आयोजना गरिएको थियो। सम्मेलनमा जेष्ठ भूतपूर्व सैनिक, जेष्ठ एकल महिला, चार सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावक तथा उत्कृष्ट उद्यमीहरूलाई सम्मान, प्रशंसापत्र र पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी फरक क्षमता भएका तथा अशक्त २४ जना भूतपूर्व सैनिकलाई व्हीलचेयर तथा बैसाखी वितरण गरिएको थियो। रामेछापकी १०२ वर्षीया एकल महिला नरमाया कार्कीलाई ‘ज्येष्ठ शताब्दी महिला’का रूपमा अभिनन्दन गरिएको थियो।

कार्यक्रमले सेवामा रहेका र अवकाश प्राप्त सैनिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, कल्याणकारी कोषको प्रभावकारिता बढाउने तथा हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

यससँगै आर्थिक वर्ष २०८२/०८३ को भूतपूर्व सैनिक सम्मेलन औपचारिक रूपमा सम्पन्न भएको नेपाली सेनाले जनाएको छ।