जैविक विविधता संरक्षणमा युवाको जिम्मेवारी

752
Shares

जैविक विविधताका दृष्टिले नेपाल एसियामा ११औं र विश्वमा ३१औं स्थानमा रहेको छ । यहाँ ११८ किसिमका पारिस्थितिक प्रणाली पाइन्छन् । यस तथ्यले नेपाल जैविक विविधतामा कति धनी छ भन्ने कुरा स्पष्ट पार्दछ । साथै, क्षेत्रफलका हिसाबले विश्वको केवल ०.१ प्रतिशत भूभाग ओगटेको नेपालमा विश्वका करिब ३.२ प्रतिशत वनस्पति प्रजाति, १.१ प्रतिशत स्तनधारी जीवजन्तु, ८.९ प्रतिशत चराचुरुङ्गी र ४ प्रतिशतभन्दा बढी उभयचर तथा सरिसृप पाइन्छन् । यी तथ्यले नेपाललाई विश्वकै प्रमुख जैविक विविधता सम्पन्न देशको रुपमा चिनाएको छ । नेपालको यस्तो समृद्ध जैविक विविधताको संरक्षण र संवद्र्धन गर्नु युवापुस्ताको प्रमुख दायित्व तथा जिम्मेवारी हुनु अपरिहार्य छ ।

कृषि जैविक विविधता नीति– २०६३ ले आकाशीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यसको भागको रूपमा रहेको जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई जैविक विविधता भनेकोे छ । यस्तै जैविक विविधता महासन्धि– १९९२ ले पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनेको छ ।

यसर्थ पृथ्वीमा रहेका सम्पूर्ण जीव–जनावर, वनस्पति, सूक्ष्मजीव, पारिस्थितिक प्रणाली तथा तिनीहरुबीचको अन्तरसम्बन्धको समग्र रूपलाई जैविक विविधता भन्न सकिन्छ । मानव अस्तित्व, खाद्य सुरक्षा, स्वच्छ हावा, पानी, औषधि, ऊर्जा र वातावरणीय सन्तुलन सबै जैविक विविधतासँग प्रत्यक्षरूपमा जोडिएका हुन्छन् । तर औद्योगिकीकरण, शहरीकरण, वन विनाश, अव्यवस्थित विकास, प्रदूषण र जलवायु परिवर्तनका कारण विश्वव्यापीरूपमा जैविक विविधता तीव्र गतिमा क्षय हुँदै गइरहेको छ । यस्तो संकटपूर्ण अवस्थामा जैविक विविधताको संरक्षण आजको आवश्यकता मात्र नभई मानव सभ्यताको भविष्य सुरक्षित गर्ने प्रमुख आधार हो । जैविक विविधता संरक्षणमा परिवर्तनका संवाहक युवापुस्ताको भूमिका महत्वपूर्ण र आवश्यक छ ।

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमका अनुसार पृथ्वीमा रहेका करिब १० लाख प्रजाति निकट भविष्यमा लोप हुने जोखिममा छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सार्वजनिक गरेको रेड लिस्टअनुसार विश्वका करिब ४२ हजारभन्दा बढी प्रजाति संकटग्रस्त अवस्थामा छन् । यसले जैविक विविधता संरक्षणको चुनौती कति गम्भीर छ भन्ने कुरा स्पष्ट पारेको छ । नेपालजस्तो जैविक विविधताले भरिपूर्ण मुलुकमा यो चुनौती अझै संवेदनशील बन्दै गएको छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५ प्रतिशत रहेको छ । यति ठूलो युवा जनशक्ति देशको सामाजिक, आर्थिक र वातावरणीय परिवर्तनका लागि सबैभन्दा सक्रिय र सक्षम शक्ति हो । समाज परिवर्तनका हरेक निर्णायक आन्दोलनमा युवाको अग्रसरता प्रमुख कारक बनेको प्रमाणित भैसकेकोे छ । यही ऊर्जा, उत्साह र नवीन सोच जैविक विविधता संरक्षणमा परिचालन गर्न सकिएमा उल्लेखनीय सफलता हासिल गर्न सकिने कुरामा दुईमत नहोला ।

अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमा पनि युवाको भूमिका उल्लेखनीय छ । जैविक विविधताको संरक्षण केवल परम्परागत उपायबाट मात्र सम्भव छैन । आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन आवश्यक छन् । ड्रोन प्रविधिबाट वन निगरानी, जीपीएसमार्फत वन्यजन्तुको चालढाल अध्ययन, डिजिटल डाटाबेस निर्माण, मोबाइल एप्समार्फत अवैध चोरी सिकारी नियन्त्रणजस्ता नवीन अभ्यासमा युवालाई अग्रसर गराउन सकिन्छ । विश्व बैंकका अनुसार वातावरणीय प्रविधि क्षेत्रमा युवाको संलग्नताले संरक्षण प्रयासलाई ३० प्रतिशतसम्म प्रभावकारी बनाएको छ ।

नेपाल जलवायु परिवर्तनको दृष्टिले उच्च जोखिममा रहेको देश हो । ग्लोबल क्लाइमेट रिस्क इन्डेक्सका अनुसार नेपाल जलवायु जोखिममा परेका शीर्ष १० देशमध्ये पर्छ । हिमनदी पग्लिनु, बाढी, पहिरो, डढेलो, अनियमित वर्षा र खडेरीजस्ता प्राकृतिक प्रकोपले जैविक विविधतालाई गम्भीर असर पु¥याइरहेका छन् । यस्तो अवस्थामा युवाले जलवायु अनुकूलन र न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै जैविक विविधताको संरक्षणमा अग्रणी भूमिका खेल्न सक्छन् ।

यस्तै जैविक विविधता संरक्षणका लागि युवाले खेल्न सक्ने भूमिका बहुआयामिक छ । सचेतना अभिवृद्धिमा युवाको योगदान अत्यन्त प्रभावकारी हुन्छ । आधुनिक सूचना प्रविधि, सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रयोगमार्फत युवाले जैविक विविधताको महत्व, संरक्षणका उपाय र जोखिमबारे जनचेतना फैलाउन सक्छन् । युनेस्कोको तथ्याङ्कअनुसार विश्वभर ७० प्रतिशतभन्दा बढी युवा इन्टरनेट र सामाजिक सञ्जालमा सक्रिय छन् ।

यसले युवालाई सचेतना फैलाउने सशक्त माध्यम प्रदान गरेको छ । नेपालमा पनि पछिल्लो समय फेसबुक, टिकटक, युट्युब र ब्लगमार्फत वातावरण संरक्षण, वन संरक्षण, वन्यजन्तु संरक्षण र जलवायु परिवर्तनसम्बन्धी अभियानमा युवाको उल्लेखनीय सहभागिता देखिन थालेको छ । वृक्षरोपण, वन पुनस्र्थापना, नदी सफाइ, फोहोर व्यवस्थापन, प्लास्टिक प्रयोग न्यूनीकरण, सामुदायिक वन संरक्षण, जैविक खेती प्रवद्र्धनजस्ता कार्यमा युवाले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । वन तथा वातावरण मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा सञ्चालन भएका वृक्षारोपण तथा वन संरक्षण अभियानमा सहभागी हुनेमध्ये ६० प्रतिशतभन्दा बढी युवा छन् । यसले जैविक विविधता संरक्षणमा युवाको भूमिका कति प्रभावकारी बन्दै गएको छ भन्ने स्पष्ट पारेको छ ।

अहिले नेपाल मात्र होइन, विश्वव्यापीरूपमै जैविक विविधता संरक्षणमा युवाको योगदान उल्लेखनीय बन्दै गएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म हासिल गर्ने लक्ष्य राखेका १७ दिगो विकास लक्ष्यहरूमध्ये लक्ष्य १४ (समुद्री जीवन संरक्षण) र लक्ष्य १५ (स्थलजीव संरक्षण) प्रत्यक्षरूपमा जैविक विविधतासँग अन्तर सम्बन्धित छन् । यी लक्ष्यहरूको कार्यान्वयनमा युवा सहभागितालाई केन्द्रीय भूमिका दिइएको छ । संयुक्त राष्ट्रसंघको ‘युथ फर नेचर’ अभियानअन्तर्गत विश्वभर लाखौँ युवा जैविक विविधता संरक्षणका कार्यक्रममा संलग्न छन् ।

नेपालमा पनि विभिन्न गैरसरकारी संस्था, सामुदायिक समूह, युवा क्लब र शैक्षिक संस्थामार्फत जैविक विविधता संरक्षण अभियान सञ्चालन भइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्ला वर्षहरूमा वन्यजन्तु संरक्षणसम्बन्धी स्वयंसेवी अभियानमा युवाको सहभागिता ४० प्रतिशतले वृद्धि भएको देखाएको छ । यस्तै चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, सगरमाथा तथा लाङटाङ क्षेत्र संरक्षण क्षेत्रमा युवाले संरक्षण, अनुसन्धान र पर्यटन व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।

यति ठूलो सम्भावनाबीच चुनौतीका चाङ पनि कम छैनन् । बेरोजगारी, सीप अभाव, प्रविधिमा असमान पहुँच, नीति निर्माण प्रक्रियामा कमजोर सहभागिता र ग्रामीण क्षेत्रका युवाको अवसर सीमित हुनु प्रमुख समस्या हुन् । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर युवा बेरोजगारी दर वयष्कको तुलनामा दोब्बर छ । नेपालमा पनि प्रत्येक वर्ष लाखौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य बनीरहेका छन् ।

जसले जैविक विविधता संरक्षणमा आवश्यक जनशक्ति अभाव सिर्जना भएको महसुस हुन थालेको छ । यस्ता तमाम चुनौतीको समाधानका लागि राज्य, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिक समाजबीच आवश्यक समन्वय हुनु जरुरी छ । जैविक विविधता संरक्षणसम्बन्धी शिक्षा पाठ्यक्रममा समावेश गर्नु, अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउनु, हरित उद्यमशीलतालाई प्रोत्साहन गर्नु, युवा–मैत्री नीति निर्माण गर्नु र नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्नु अति आवश्यक छ ।

साथै युवालाई केवल कार्यक्रमका सहभागी होइन, नीति निर्माण र निर्णय प्रक्रियामा प्रमुख साझेदारका रूपमा सँगसँगै अगाडि लैजानुु अपरिहार्य बन्दै गएको छ ।जैविक विविधता संरक्षण केवल वातावरणीय मुद्दा मात्र नभई मानव अस्तित्व, सामाजिक न्याय र आर्थिक दिगोपनसँग प्रत्यक्ष गाँसिएको साझा जिम्मेवारी हो । यस अभियानको सफलताका लागि युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र परिपक्व नेतृत्व अपरिहार्य छ । सचेत, जिम्मेवार र प्रतिबद्ध युवा पुस्ताले नै जैविक विविधताले भरिपूर्ण, सुन्दर र सुरक्षित नेपाल निर्माणलाई सम्भव बनाउन सक्छन् । आज युवाले लिएको सानो कदमले भोलिका पुस्ताका लागि ठूलो आशा र सम्भावनाको ढोका खोल्न सक्छ । त्यसैले जैविक विविधता संरक्षणमा युवाको निर्णायक तथा नेतृत्वदायी भूमिका विकल्प मात्र होइन, आजको अनिवार्य आवश्यकता समेत हो ।