युक्रेनका विभिन्न सहरमा रुसको भीषण आक्रमण, १३ जनाको मृत्यु, दर्जनौँ घाइते


काठमाडौँ।

रुसले युक्रेनका राजधानी किएभसहित विभिन्न सहरमा गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही महिनायता मस्कोले सञ्चालन गरेको यो सबैभन्दा ठूलो सैन्य कारबाहीमध्ये एक हो।

युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार मध्य युक्रेनको द्नीप्रो सहरमा नौ जना तथा राजधानी किएभमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ। आक्रमणमा बालबालिकासहित धेरै व्यक्ति घाइते भएका छन् भने केही भवनका भग्नावशेषमा अझै मानिस पुरिएको आशङ्का गरिएकाले उद्धार कार्य जारी रहेको बताइएको छ।

रुसले सोमवार रातिदेखि विभिन्न सहरलाई लक्षित गर्दै ड्रोन र बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। हवाई हमलाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मङ्गलवार बिहान युक्रेनका अधिकांश क्षेत्रमा साइरन बजाएर चेतावनी जारी गरिएको थियो।

आवासीय भवनदेखि पूर्वाधारसम्म निशाना

राजधानी किएभमा आक्रमणपछि सहरका विभिन्न भागबाट धुवाँका ठूला मुस्ला उठेको देखिएको थियो। किएभका नगरप्रमुख भिटाली क्लिच्कोले नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेका छन्।

किएभ सैन्य प्रशासनका प्रमुखले रुसी सेनाले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन्। हमलाका कारण आवासीय भवन, निजी घर, इन्धन स्टेशन तथा निर्माणाधीन संरचनामा आगलागी भएको छ भने सहरका केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको बताइएको छ।

खार्किभ र ज्यापोरिजियामा पनि आक्रमण

पूर्वोत्तर सहर खार्किभमा रातभर ड्रोन र क्षेप्यास्त्र आक्रमण हुँदा एक बालबालिकासहित कम्तीमा १० जना घाइते भएका छन्। दक्षिणी सहर ज्यापोरिजियास्थित एक औद्योगिक प्रतिष्ठान पनि हमलाको निशानामा परेको स्थानीय अधिकारीहरूले बताएका छन्।

यसैबीच, रुसको क्रस्नोदार क्राई क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमण भएको र त्यसबाट आगलागी भएको रुसी आपत्कालीन सेवाले जनाएको छ। यद्यपि उक्त घटनामा मानवीय क्षति नभएको बताइएको छ।

तनावको पृष्ठभूमि

गत साता रुसी नियन्त्रणमा रहेको पूर्वी युक्रेनको स्टारोबिल्स्क क्षेत्रमा रहेको एक छात्रावासमा युक्रेनले घातक हमला गरेको आरोप लगाउँदै मस्कोले त्यसको जवाफस्वरूप “योजनाबद्ध आक्रमण” गर्ने चेतावनी दिएको थियो। युक्रेनले भने उक्त हमला रुसी सैनिक एकाइलाई लक्षित गरेर गरिएको दाबी गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै रुसले ठूलो आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचनाबारे नागरिकलाई सचेत गराएका थिए।

“रुसी हमलाबारे प्राप्त चेतावनी अझै कायम छ। उनीहरू ठूलो आक्रमणको तयारीमा छन्, त्यसैले हवाई हमलासम्बन्धी सूचनालाई गम्भीरतापूर्वक लिनुहोस्,” जेलेन्स्कीले भनेका थिए।

युद्ध थप चर्किने संकेत

मे महिनामा लागू गरिएको छोटो युद्धविराम समाप्त भएपछि रुसले किएभ र अन्य सहरहरूमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएको छ। पछिल्ला घटनाक्रमले युद्ध झन् चर्किने संकेत देखिएको विश्लेषण भइरहेको छ।

किएभले रुसी धम्कीलाई “निर्लज्ज ब्ल्याकमेल” को संज्ञा दिँदै आफ्ना अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूलाई मस्कोमाथि थप दबाब सिर्जना गर्न आग्रह गरेको छ। उता रुसले भने आफ्ना भूभाग तथा सैन्य संरचनामाथि भइरहेका युक्रेनी आक्रमणको प्रतिकार गरिरहेको दाबी गर्दै आएको छ। -बीबीसी