लिभरपुलका लागि मोहम्मद सालाहको २५० औं गोल


लिभरपुलले अघिल्ला लगातार बेहोरको हारको क्रम भंग गर्दा टोलीका स्टार खेलाडी मोहम्मद सालाहले २ सय ५० औं गोल गरेका छन् । एनफिल्डमा शनिबार भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले हराएको हो । योसँगैं लिभरपुलले लगातार चार खेलको हारको क्रम तोड्न सफल भयो ।

सालाहले पहिलो हाफको अन्त्यतिर गोल गर्दै लिभरपुललाई १–० को अग्रतामा राखेका थिए । यो सालाहको लिभरपुलको करिअरमा २ सय ५० औं गोल बन्यो । साथै यो जितले लिभरपुलको १० खेलमा १७ अंक भएको छ । टोली शीर्ष स्थानको आर्सेनलसँग ८ अंकले पछि रहेको छ ।

लगभग ८ वर्षको स्पेलमा सबै प्रतिस्पर्धामा गरी २ सय ५० गोल गर्नेमा सालाह लिभरपुलका तेस्रो खेलाडी हुन् । उनीभन्दा अगाडि आयन रश र रोजर हन्टले सो क्लबका लागि २ सय ५० भन्दा बढी गोल गरेका थिए ।

१९८० र १९९० दशकमा खेलेका रशले कूल ३ सय ४६ गोल गरेका छन् । जुन क्लबको सर्वाधिक गोल गरेको कीर्तिमान हो । यस्तै, हन्टले १९५० र १९६० दशकमा खेल्दै २ सय ८५ गोल गरेका थिए । तर, इजिप्टका खेलाडी सालाहको लिभरपुलमा करिअर भने एक दशक पूरा हुँदैछ । उनी सन् २०१७ मा अनुबन्ध भएका हुन् ।

सालाहका गोलहरू

प्रिमियर लिगमा १८८

च्याम्यिन्स लिगमा ४५ गोल

एफए कपमा ६ गोल

युरोपा लिगमा ५ गोल

ईएफएलमा ४ गोल

कम्युनिटी शील्डमा १ गोल

च्याम्पियन्स लिग क्वालिफाइंंगमा १ गोल